काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठकले संगठन समायोजन हुन नसकेका जिल्लामा समायोजन टुंग्याउने सम्पूर्ण अधिकार निर्वाचन समितिलाई दिएको छ।
पदाधिकारी, पूर्व पदाधिकारी तथा निर्वाचन समितिको बैठकमा केही जिल्ला समितिहरुले समयोजन प्रक्रियामा असहयोग गरेको निर्वाचन समितिका सदस्यहरुले जानकारी गराएका थिए। सहमहामन्त्री डा प्रकाशशरण महतले भने, ‘५२ जिल्लाको संगठन समायोजन सकिएको छ।’ अरु जिल्लाबाट निर्वाचन समितिलाई सहयोग नगरेको गुनासो समिति सदस्यहरुले बैठकमा राखे।
१४ औं महाधिवेशन तोकिएकै समय (फागुन ७ देखि १०) गर्न सभापति शेरबहादुर देउवा तयार रहेको बैठकमा बताएका थिए। देउवाको भनाइ उद्धृत गर्दै महतले भने, ‘फागुनमै महाधिवेशन हुनुपर्छ। त्यसका लागि तपाईंहरुले त्यसैअनुसारको तयारी गर्नुस्।’ कार्यतालिका परिमार्जन गरेर फागुनमा महाधिवेशन हुनेगरी थप निर्णय मंगलबारको केन्द्रीय समितिमा छलफल हुने उनले जानकारी गराए।
निर्वाचन समिति सदस्यका धारणा सुनिसकेपछि शीर्ष नेताहरुले समायोजन प्रक्रिया सक्न सर्वाधिकार सुम्पिएका छन्। शीर्ष नेताको बैठकले गरेको निर्णयको अनुमोदन मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले गर्नेछ। ५२ जिल्लामा समायोजनको कार्य पूर्ण रुपमा सकिएको छ। निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने, ‘केही जिल्लामा केही वडाहरुको समायोजन सकिएको छैन। दुई/चार जिल्लाको समायोजन नसकिए पनि महाधिवेशन प्रक्रिया रोकिन्न।’
निर्वाचन समितिको लागि समायोजन सक्नको लागि गत फागुनको १५ सम्मको लागि अन्तिम समय दिइएको थियो। जिल्ला कार्यसमितिले असहयोग गर्दा संगठन समायोजन टुंगिन नसकेको निर्वाचन समितिले जनाएको छ। प्रदेश २ का अधिकांश जिल्लाले समायोजन टुंग्याएका छैनन्। उपसभापति विमलेन्द्र निधिको गृहजिल्ला धनुषामा सबैभन्दा बढी विवाद रहेको बताइएको छ। सभापति देउवाको गृहजिल्ला डडेल्धुरा र वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँबाट ढिलो गरी समायोजन सकिएको छ। नुवाकोटमा चार वडाको विवाद रहेको बताइएको छ।
जिल्ला कार्यसमितिबाट सहयोग नभए निर्वाचन समितिले बलपूर्वक भएपनि समायोजन सक्ने निर्वाचन समिति सदस्य घिमिरेले जानकारी दिए। असार मसान्तसम्म समायोजनको कार्य सकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।