काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक मंगलबारका लागि बोलाएको छ।
१४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो। कोभिड १९ ले महाधिवेशन कार्यतालिका प्रभावित भएपछि परिमार्जनका लागि केन्द्रीय समिति बैठक बोलाइएको जनाइएको छ।
आइतबार बसेको शीर्ष नेताको बैठकले मंगलबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो। माघ २९ को केन्द्रीय समितिले तय गरेको तल्लो कार्यसमितिको अधिवेशन कोरोना संक्रमणसँगै रोकिएको थियो।
आगामी फागुन ७ देखि १० का लागि तोकिएको महाधिवेशन समयमा नै हुनेगरी केन्द्रीय समितिले सदस्यता वितरण र नविकरणसहित तल्लो तहका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ।
केन्द्रीय समिति बैठकले वर्तमान सरकारका विरुद्धमा सडक आन्दोलनका विरोधका कार्यक्रम समेत ल्याउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए।
केन्द्रीय कार्यालय सानेपामा हुने केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।