काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। अस्पतालको कोभिड-१९ आइसियूमा उपचाररत ५० वर्षीय पुरुषको शनिबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
कैलालीको गोदावरी नगरपालिकाका ती पुरुष फोक्सो क्यान्सरका रोगी रहेको अस्पतालका निर्देशक श्रीराम तिवारीले बताए। उनी उपचारका लागि चितवन आएका थिए। बिहीबार राती उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा मृत्यु भएको हो। उनी क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए।
पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो। उपचारका क्रममा उनको स्वाब परीक्षण गर्दा भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको हो। कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो । चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषमा कोरोना पुष्टि भएपछि बिहीबार भरतपुर अस्पताल सारिएको थियो।
उनको फोक्सोको क्यान्सर अन्तिम अवस्थामा रहेको अस्पतालले जनाएको छ। योसँगै नेपालमा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले पछिल्लो मृत्युबारे आधिकारिक रूपमा पुष्टि गर्न बाँकी छ। शुक्रबारसम्म नेपालमा २७ कोरोना संक्रमितको मृत्यु भएको भने मन्त्रालयले पुष्टि गरिसकेको छ। हालसम्म नेपालमा ११ हजार ७८७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।