दाङ- दाङमा तीनदिन पहिले उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ। घोराही उपमहानगरपालिका-१५ गुम्राह चोक प्रतीक्षालयमा बेवारिसे अवस्थामा तीन दिन पहिले भेटिएकी महिलालाई प्रहरीले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेको थियो। उपचारकै क्रममा ति महिलाको मृत्यु भएको हो।
उनको स्वाब संकलन गरेर कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ। बेन्चमा सुतेको र सास फेर्न गाह्रो अवस्थामा देखेपछि प्रहरीले उद्धार गरेर अस्पताल लगेको थियो। ती महिलाको अहिलेसम्म सनाखत हुन सकेको छैन। वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाल र घोराही उपमहानगरपालिकाको नगर प्रहरी इन्चार्ज प्रहरी नायब निरिट्ठक्षक रुद्र पन्थी नेतृत्वको टोलीले उनलाई स्टेचरमा राखेर अस्पताल पुर्याएको थियो।
अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने ति महिला केही दिन देखी गुम्राह चोक आसपास मै मागेर खाने गरेको स्थानीयहरुले बताएका छन्। यसैबीच शव व्यवस्थापन गर्ने विषयमा घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन र नेपाली सेनाको विचमा छलफल भैरहेको छ।
योसहित नेपालमा हालसम्म २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।