काठमाडौं- संसदीय समितिले क्वारेन्टाइनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।
शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टाइनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टाइनहरु पूर्ण रुपमा महिला मैत्रि नभएकाले यौंन हिंसाका घटनाहरु बढेकोले मर्यादित र सुरक्षित क्वारेन्टिनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन्।
सांसदहरुले क्वारेन्टाइनहरु व्यवस्थित नभएको गर्भवती महिलाहरुको पिसिआर परीक्षण समयमै नहुँदा समस्या भएको बताए। सांसद अमृता थापाले सुत्केरी महिलाहरुको पीसीआर रिपोर्ट ढिला आउँदा अप्रेसनमा समस्या हुने गरेको बताइन्। उनले पीसीआर परीक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
महिलाहरु रहेको क्वारेन्टाइनको सुरक्षाका लागि महिला प्रहरीको आवश्यकता रहेको उनको भनाइ छ। उनले महिला प्रहरीको अभाव देखिए म्यादी महिला प्रहरी भर्नाको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिन्।
सांसद हिरा गुरुङले क्वारेन्टाइनहरुमा महिलामाथि हिंसाका घटना बढिरहेको अवस्थामा मन्त्रालयले के गरिरहेको छ भन्दै प्रश्न गरिन्। क्वारेन्टाइनमा सुत्केरी महिलाहरुले दुःख पाइरहेको उल्लेख गर्दै उनले मन्त्रालयको तर्फबाट के कस्तो सहयोग भइरहेको छ भनी प्रश्न गरिन्।
सांसद महेन्द्र कुमारी लिम्बूले महिलामाथि हुने हिंसाका घटनाहरुमा बोल्न नसक्ने मन्त्री र समिति सभापतिले राजीनामा दिनुपर्नेपर्ने बताइन्।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री समेत सहभागी कार्यक्रममा अर्का सांसद गंगा चौधरीले क्वारेन्टाइनमै महिलामाथि हिंसाका घटनाहरु बढिरहेको भएपनि मन्त्रालय र समितिले तदारुकता नदेखाएको बताइन्। लकडाउनको समयमा सांसदहरुलाई आफ्नो गाउँ जान कुनै समस्या नभएपनि महिला हिंसा बढिरहेको क्षेत्रमा गएर अध्ययन गर्न के ले रोक्यो भन्दै प्रश्न गरिन्। महंगा कार्पेट किन्नु भन्दा सीप भएका महिलाहरुलाई प्रोत्साहन गरी स्थानीय स्तरमा उत्पादन हुने गुन्द्री प्रयोग गर्न उनको आग्रह थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।