नेपालगञ्ज- नेपालगञ्ज मेडिकल कलेजमा शल्यक्रिया गराएका तीन जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै कलेजले उनीहरू तीनै जनालाई संक्रमणमुक्त भएपछि नर्मल वार्डमा सारेको जानकारी दिएको छ। यसअघि उनीहरूको कोभिड वार्डमा उपचार हुँदै आएको थियो। उनीहरूको सफल शल्यक्रियापछि कोरोना संक्रमणमुक्त भएको भन्दै अस्पतालले खुशी व्यक्त गरेको छ।
अछाम, चौरपाटी गांउपालिका-५ घर भएकी २५ वर्षकी १८ हप्ताकी गर्भवती महिलामा भारतको मुम्बईबाट घर फर्किएर क्वारेन्टाइनमा बसेको १०औँ दिनमा स्वास्थ्यमा समस्या देखिएपछि बयलपाटा हस्पिटलले रिफर गरे गरी पठाएको थियो। भेरी अस्पतालको ल्याबमा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ ती महिलाको ठूलो आन्द्रामा समस्या देखिएपछि २७ गते अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टिमले अप्रेसन गरी उपचार गर्दै आएको छ।
यसैगरि कपिलवस्तु कृष्णनगर निवासी कोरोना संक्रमित २७ वर्षीय ३८ हप्ताको गर्भवती महिला भीम अस्पताल सिद्धार्थ नगर रुपन्देहीबाट रिफर भई शिक्षण अस्पताल कोहलपुरमा आएकी थिइन्। गर्भवती महिलालाई प्रोटोकलअनुसार जाँच गरी बिरामीको ६ गते शल्यक्रिया गरिएको थियो। शल्यक्रिया पछि बच्चा जन्माएकी ती महिलाको स्वाबको नमुनाको पिसिआर परीक्षण गर्दा रिपोट नेगेटिभ आएपछि कोभिड वार्डबाट असार १० गतेदेखि आइसोलेसन वार्डमा सारिएको छ।
त्यस्तै रुकुम सानो भेरी नपा- १ का ८२ वर्षीय जेष्ठ नागरिक पेट दुख्ने समस्या भएपछि जेठ २२ गते अस्पतालमा भर्ना भएकी थिइन्। उनको पनि स्वाबको नमुनाको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोट आयो। त्यसपछि उनलाई कोभिड वार्डमा भर्ना गरेर उपचार भैरहेकोमा असार १० गते पुन पिसिआर परीक्षण गर्दा रिपोट नेगेटिभ आएपछि आइसोलेसन वार्डमा सारिएको छ।
अस्पतालले कोभिड-१९ का शंका भएका ४१५ जना बिरामीहरुको निःशुल्क उपचार गर्दै आईरहेका जानकारी दिएको छ। कोरोना संक्रमितहरुलाई समेत उपचार सेवा प्रदान गर्दै आएको शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आउने सबै किसिमका बिरामीहरुलाई अस्पतालले उच्च स्तरको उपचार सेवा प्रदान गर्दै आएको दाबी अस्पतालको छ।
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोरोना उपचारका लागि सरकारले तोकेको लेभल ३ स्तरको अस्पताल हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।