काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा पहिलो पटक पूर्व अध्यक्ष विरुद्धको खेद प्रस्ताव कार्यसमितिबाट समेत अनुमोदन भएको छ।महासंघ अध्यक्ष भवानी राणाविरुद्ध सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै आएका महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालविरुद्ध महासंघको केन्द्रीय समितिले खेद प्रस्ताव अनुमोदन गरेको हो।
यसअघि महासंघको पदाधिकारी बैठकले ढकाल विरुद्धको खेद प्रस्ताव पारित गरको थियो। पदाधिकारीबाट पारित भएको खेद प्रस्तावलाई महासंघको कार्यसमितिले पनि अनुमोदन गरेको महासंघको एक पदाधिकारीले नेपाल लाइभसँग बताए।
महासघंको जेठ २३ गते शुक्रबार बसेको पदाधिकारी बैठकमा उपाध्यक्ष किशोर प्रधानले खेद प्रस्ताव दर्ता गराएका थिए। दर्ता भएको खेद प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरेकाे हाे।
पूर्वअध्यक्ष ढकालका पक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल र उमेशलाल श्रेष्ठले मात्रै धारणा राखेका थिए। अन्य पदाधिकारीले भने खेद प्रस्तावका पक्षमा आफ्नो समर्थन रहेको भन्दै बोलेका थिए। अन्ततः खेद प्रस्ताव महासंघको कार्यसमितिबाट अनुमोदन भयो।
प्रधानले पूर्वअध्यक्ष ढकालले अध्यक्ष राणाको मानमर्दन गरेको भन्दै खेदप्रस्ताव दर्ता गराएका थिए। प्रधानले दर्ता गराएको प्रस्तावमा अध्यक्ष राणाले जेठ २५ गते हस्ताक्षर गर्दै पदाधिकारीबाट पारित गराएकी थिइन् भने सोमबार सो प्रस्तावलाई केन्द्रीय समितिले समेत अनुमोदन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।