पाल्पा- पाल्पामा सोमबारमात्र एकैदिन ८२ जनामा कोरोना संक्रमण थपिएका छन्। जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित पुष्टि भएका सबै जना तीन हप्ताअघि भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरु हुन्। पाल्पामा हालसम्म कोरोना संक्रमितको संख्या १७६ पुगेको छ। पाल्पामा तानसेन नगरपालिकामा बाहेक सबै गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन्।
यसअघि पालपाका रम्भा गाउँपालिकामा १६ जना, बगनासकाली गाउँपालिकामा १७ जना, माथागढी गाउँपालिकामा १५ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रिब्दीकोटमा ४ जना, तिनाउमा ३ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिकाका १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो। पाल्पाको पूर्वखोला गाउँपालिकाका एक जना संक्रमितको उपचारको क्रममा मत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।