दमक- झापाको कनकाई नगरपालिकाका- १ देखि ७ सम्मका सम्पूर्ण क्षेत्रलाई बन्द गरिएको छ। क्वारेन्टाइनमा बसेकी एक महिलामा कोरोना पुष्टि भएपछि थप जोखिम हुन नदिन सो नगरपालिकाले सोमबारदेखि असार १३ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण कार्यालय, व्यवसाय र बजार बन्द गरेको हो। नगरपालिकाको कोरोना भाइरस तथा नियन्त्रण समितिको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो।
नगर क्षेत्रको क्वारेन्टाइनमा बसेकी एक महिलामा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनको भेटघाट श्रीमानसँग भएको र श्रीमानको सम्पर्क समुदायस्तरसम्म रहेका कारण सङक्रमण फैलिन नदिन नगरपालिकाले उक्त कदम चालेको हो।
नगरपालिकाले कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्न र बचाउन सम्पूर्ण नगरबासीलाई अत्यावश्यक काम बाहेक आफ्नै घरभित्र रहन र सामाजिक दूरी कायम गर्न सार्वजनिक सूचना जारी गरी आग्रह गरेको छ। सो अवधिमा स्वास्थ्य सेवाका ओपिडी बाहेकका सेवा खुल्ला रहने र अत्यावश्यक सेवा एवम् निर्माण कार्यमा प्रयोग हुने सवारी साधान सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ।
त्यसैगरी सोमबार नै मेचीनगर नगरपालिका– ६ को होम क्वारेन्टाइनमा बसेका एक कोरोना संक्रमितसँग सम्पर्कमा रहेका २२ जना व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगरस्थित कोभिड–१९ को प्रयोगशाला पठाइएको छ।
संक्रमितको घर सिल गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले जानकारी दिइन्। सङ्क्रमित महिला भारतको युपीबाट गत जेठ ३० गते काँकडभिट्टा आएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।