सप्तरी- कोरोना संक्रमित मिर्गौलाका बिरामी १४ वर्षीय किशोर संक्रमण मुक्त भएर घर फर्किएका छन्। भारतको दिल्लीस्थित एम्स अस्पतालमा मिर्गौलाको उपचार गरी घर फर्कने क्रममा कोरोना भाइरस संक्रमण भएका सप्तरी राजविराज नगरपालिका–१३ पिपराहीका उनी १२ दिनको आइसोलेशन केन्द्र बसेर शनिबार साँझ डिस्चार्ज भएका हुन्। उनमा मिर्गौलाको समस्या समेत थियो।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ देखिएपछि उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए। बालकको ४० वर्षीया आमासमेतसँगै डिस्चार्ज भएकी छिन्।
'बालकैमा मिर्गौला रोगी, त्यसमाथि कोरोनाको सङ्क्रमण सुनेर अत्तालिएकी थिए,' बालककी आमाले भनिन्, 'उच्च मनोबलले ठूला रोग पनि परास्त हुने रहेछ।' जटिल खाले लक्षणबिना कोरोनामुक्त किशोरले उच्च मनोबलले रोग परास्त हुने अनुभव सुनाए। बालक र आमालाई राजविराजस्थित क्वारेन्टाइनमा बसेको १४ दिनपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो।
दुवैको शुक्रबार पिसिआर परीक्षण गर्दा सङ्क्रमण देखिएन । शनिबार उनीसहित १४ जनालाई डिस्चार्ज गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताए। 'म त बाल्यकालदेखि नै रोगी, त्यसमा कोरोना थपियो।
चिन्ता मानेको भए परिणाम अर्को हन्थ्यो होला। कोरोनालाई जित्नै पर्दछ भन्ने मनमा अठोट गरेँ', किशोरले भने। डिस्चार्ज भएका अरु पनि भारतबाट आएका हुन्। सप्तरीमा हालसम्म ७१ जना निको भएर घर फर्किसकेका छन्। एक सय ५८ कोरोना भाइरसबाट सङ्क्रमित भएको सप्तरीमा १२ महिला छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।