एजेन्सी- न्युजिल्यान्डमा २४ दिनपछि कोरोना संक्रमित फेला परेको छ। न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार बेलायतबाट फर्किएका २ जनामा कोरोना संक्रमण फेला परेको हो। एक ब्यक्तिको अन्तिम संस्कारमा सहभागी हुन यी दुवैलाई न्युजिल्यान्ड आउन अनुमति मिलेको थियो।
एक हप्ता अगाडि मात्रै न्युजिल्यान्ड सरकारले देशलाई कोरोना भाइरस संक्रमण मुक्त देश भएको घोषणा गरेर सबै प्रकारका प्रतिबन्ध खुलाएको थियो। उसले आफ्नो देशको नागरिक र कर्मचारीलाई मात्र स्वेदश फर्कने अनुमति दिँदै सबै प्रकारका अन्तराष्ट्रिय हवाई सेवामा लगाएको रोक भने कायमै राखेको थियो।
न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले देशलाई कोरोना संक्रमण मुक्त घोषणा गर्दै देशमा पुनः कोरोना संक्रमण शुरु हुनसक्ने चेतावनी दँदै आवश्यक सचेतता अपनाउन आग्रह गरेकी थिइन्। न्युजिल्यान्डले निकै मिहेनत गरेर कोरोना भाइरस संक्रमण नियन्त्रण गरेको थियो। न्युजिल्यान्डमा एक हजार पाँच सय ६ जना संक्रमित भएका थिए भने २२ जनाको ज्यान गएको थियो।
विश्वमा कोरोना संक्रमितको संख्या ८० लाख पुग्दा उता चीनमा पनि नियन्त्रणमा आइसकेको कोरोना संक्रमण पून देखिन थालेको छ। चीनको बेइजिङको एक सुपरमार्केटबाट संक्रमण शुरु भएको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।