विराटनगर– विराटनगरस्थित भारतीय दूतावास सम्पर्क कार्यालयमा बम विस्फोट भएको १२ घन्टा बित्न नपाउँदै पूर्व–पश्चिम राजमार्गमा अर्को बम भेटिएको छ।
मोरङको सुन्दर हरैंचा स्थित गछियामा बम फेला परेको हो। बम निस्क्रिय बनाउन नेपाली सेनाको टोली त्यहाँ पुगेको छ। नेपाली सेनाको थलाहा ब्यारेकबाट पुगेको टोलीले बम निस्क्रिय बनाउने प्रयास जारी राखेको प्रहरीले जनाएको छ। राजमार्गको पुलमा बम भेटिएपछि अहिले सो क्षेत्रमा सवारी आवागमन अवरुद्ध पारिएको छ।
सोमबार राति साढे ८ बजे विराटनगर महानगरपालिका वडा नम्बर १३ स्थित भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयलाई लक्षित गरी विस्फोट गराइएको थियो। विस्फोटबाट कार्यालयको पछाडिको पर्खालमा सामान्य क्षति भएको छ। विस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। उनीहरुको पहिचान खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।