काठमाडौं- समाजवादी पार्टीले सरिता गिरीलाई प्रतिनिधि सभा सांसद र पार्टी दुवैबाट निलम्बन गर्ने भएको छ। नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रलाई समेटेर सरकारले संविधान संशोधनविरुद्ध गिरीले प्रस्ताव पेश गरेपछि निलम्बन गरिने भएको हो।
समाजवादी पार्टीको संसदीय दलको बैठकले निर्णय गरी गिरीलाई संविधान संशोधनविरुद्धको प्रस्ताव फिर्ता लिन दिर्नेशन दिएको थियो। तर, गिरीले संविधान संशोधनविरुद्धको प्रस्ताव फिर्ता नलिएपछि समाजवादीले कारवाही गर्न थालेको हो।
‘हाम्रो पार्टी राष्ट्रवादी र देशभक्तहरूको पार्टी हो। राष्ट्रिय अखण्डता सार्वभौम सत्ताको पक्षमा हाम्रो पार्टी उभिँदै आएको छ। हामीले दलको बैठकबाट निर्णय नै गरेर प्रस्ताव फिर्ता लिनुस् भनेका थियौं।’ समाजवादी पार्टीका एक शीर्ष नेताले भने, ‘उहाँ(सरिता गिरी)ले दलको निर्णयलाई उल्लंघन गर्नुभयो। पार्टीको ह्वीपलाई उल्लंघन गर्नुभयो। पार्टी संसदीय दलको बैठक बसेर पार्टीले सांसद र पार्टी दुवैबाट निलम्बन हुनेगरी कारवाही सिफारिस गर्छ।’
बाबुराम भट्टराई गोरखाबाट फर्किएपछि दलको बैठक बोलाएर कारबाही गर्ने तयारी गरिएको हो। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)बीच एकता भई जनता समाजवादी पार्टी(जसपा) भएपनि संसद सचिवालयले अझै एउटै दलको मान्यता दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।