काठमाडौं– बजेटमा आवश्यकता र प्राथमिकताको क्षेत्रमा भन्दा बाहिर बजेट छुट्याउँदा अर्थमन्त्रीले विलाप गर्ने अवस्था आएको नेपाली कांग्रेसले जनाएको छ। राजस्वले धान्न नसकेको अवस्थामा प्राथमिकताभन्दा बाहिरका क्षेत्रमा बजेट विनियोजन हुनु विरोधाभास रहेको कांग्रेसले जनाएको छ।
पार्टीले गठन गरेको कोभिड–१९ अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले संक्रमणको व्यवस्थापनको सरकारल खर्च गरेको रकमको फरक फरक तथ्याङ्क आएको बताए। पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री समेत रहेका महतले भने, ‘१० अर्ब खर्च देखाएको र सरकारी निकायहरुबाट अलग–अलग तथ्याङ्क आएको छ। यसमा व्यापक भ्रष्टाचार भएको सार्वजनिक भइरहेको अवस्थामा यसको स्वतन्त्र र निष्पक्ष छानबिन होस्।’
स्वदेश फर्किनेका लागि सरकारले सामान्यभन्दा बढी रकम असुल्नु सरकारको गैर जिम्मेवारपनको पराकाष्ठा भएको कांग्रेसले जनाएको छ। कोभिड–१९ को संक्रमण र त्यसको व्यवस्थापन गर्न केन्द्र सरकारको उपस्थिति र योगदान नगन्य रहेको कांग्रेसले जनाएको छ। नेता महतले भने, ‘भोक र रोगको संकट झेलिरहेका नागरिकहरुलाई सहयोग गर्नु आजको आवश्यकता हो। यसतर्फ सरकार गम्भीर छैन।’
आरडिटी परीक्षण बन्द गर्ने मागलाई कांग्रेसले दोहोर्याएको छ। साथै, पिसिआर परीक्षणलाई व्यापक गर्न सरकारसँग माग गरिएको छ। पिसिआर परीक्षण नगरी क्वारेन्टाइनबाट घर पठाउने कार्य रोक्न सरकारलाई सुझाव महतले सुझाव दिए।
जेठ २६ मा बसेको केन्द्रीय समितिले गठन गरेको कोभिड–१९ अनुगमन समितिले सरकारलाई निरन्तर खबरदारी गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।