काठमाडौं- कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड रूपैयाँको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ल्याएको बजेटमा १९ अर्ब ६ करोड रूपैयाँ पुँजीगत खर्च र ११ अर्ब ६७ करोड रूपैयाँ चालु खर्च विनियोजन गरिएको छ। वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड रूपैयाँ विनियोजन गरिएको छ।
चालु खर्चअन्तर्गत कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि ८७ करोड ४१ लाख रूपैयाँ रोजगारतर्फ २ अर्ब ५८ करोड र अन्य कार्यक्रम र प्रशासनिक खर्चका लागि ८ अर्ब ५१ करोड रूपैयाँ वनियोजन गरिएको छ।
प्रदेशले आन्तरिक राजस्वबाट ३० करोड ६ लाख रूपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। चालु वर्षको बजेट बचत ११ अर्ब १९ करोड हुने प्रदेशको अनुमान छ।
यसैगरी संघीय सरकारबाट राजस्व बाँडफाँटबापत ९ अर्ब ६३ करोड र सशर्त अनुदानबाट ४ अर्ब ४९ करोड रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी समपूरक अनुदानबाट २५ करोड ३५ लाख र विशेष अनुदानबापत ४६ करोड प्राप्त हुने अनुमान गरिएको छ। साथै वैदेशिक सहायताबाट सञ्चालन हुने आयोजनाका लागि १ करोड ७६ लाख रूपैयाँ स्रोत परिचालन हुने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।