काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १ लाख क्विन्टल चामल खरिदका लागि तीन पटकसम्म बोलपत्र आह्वान गर्दा पनि कसैको प्रस्ताव नपरेपछि उक्त परिमाणको चामल भारतसँग जिटुजी (सरकार–सरकार) प्रकृयामा खरिद गर्नेगरी प्रकृया अगाडि बढाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले पटक–पटक बोलपत्र आह्वान गर्दा पनि चामल खरिद गर्न नसकेपछि जिटुजीलगायत अरु प्रकृया पनि अवलम्बन गरेर चामल किन्न लागिएको बताए। ‘तीन पटकसम्म सूचना प्रकाशित गर्दा पनि कसैले टेण्डर हालेन। अब टेण्डर सँगसँगै जिटुजीबाट भारतबाट पनि खरिद गर्न सकिन्छ कि भनेर त्यसको तयारी पनि भएको छ। त्यस्तै स्थानीय आपूर्तिकर्ता (लोकल सप्लायर्स) बाट लिने विधि पनि अपनाउने कि भन्ने कुरा भइरहेको छ’ उनले भने।
भारत सरकारसँग चामल खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि प्रकृया सुरु भइसकेको छ। भारतस्थित नेपाली दूतावासलाई त्यहाँको सरकारसँग चामल खरिद बारेको प्रकृया अगाडि बढाउन भनिसकिएको छ। मन्त्रालयले भारतस्थित नेपाली दूतावासका मिनिस्टर (इकोनोमिक) निता पोखरेल अर्याललाई चामल खरिदबारे आवस्यक प्रकृया थाल्न भनेको हो।
खरिद प्रकृया लम्बिएकै कारण चामल अभावको समस्या भने नदेखिने प्रमुख कार्यकारी अधिकृत सुवेदीको भनाइ छ। ‘अहिले नै खाद्य व्यवस्था कम्पनीसँग १३ हजार मेट्रिक टन (१ लाख ३० हजार क्विन्टल) चामल मौज्दात छ। त्यसकारण चामल अभावको समस्या हुन दिँदैनौं। चाँडै कुनै विधिबाट खरिद प्रकृया टुंगिन्छ’ सुवेदीले नेपाल लाइभसँग भने।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पहिलोपटक गत चैत ५ गते, दोस्रोपटक वैशाख १० र तेस्रो पटक वैशाख ३१ गते चामल खरिदसम्बन्धी बोलपत्र आह्वान गरेको थियो। तर तीनैपटक कुनैपनि आपूर्तिकर्ताले टेण्डर गरेनन्।
खाद्य व्यवस्था कम्पनीले अञ्चल कार्यालय विराटनगरबाट सोना मन्सुली चामल ५ हजार क्विन्टल तथा अञ्चल कार्यालय लहानबाट ९ हजार ५ सय क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल स्टीम जिरा मसिनो चामल खरिद गर्न खोजेको थियो। त्यस्तै शाखा कार्यालय वीरगंजबाट ५ सय क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल स्टीम जिरा मसिनो चामल, अञ्चल कार्यालय काठमाडौंबाट १० हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल स्टीम जिरा मसिनो, अञ्चल कार्यालय नेपालगंजबाट १९ हजार क्विन्टल अरुवा मोटा चामल र १ हजार क्विन्टल जिरा मसिनो चामल खरिद प्रकृया अगाडि बढेको थियो।
अञ्चल कार्यालय सुर्खेतले १७ हजार क्विन्टल अरुवा मोटा चामल र ३ हजार क्विन्टल स्टीम जिरा मसिनो र अञ्चल कार्यालय धनगढीले १९ हजार क्विन्टल अरुवा मोटा चामल र १ हजार क्विन्टल स्टीम जिरा मसिनो चामल खरिद गर्न खोजेको थियो। यसरी कुल १ लाख क्विन्टल अर्थात १० हजार मेट्रिक टन चाम खरिदका लागि खाद्य व्यवस्था कम्पनीले तीन पटकसम्म टेण्डर आह्वान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।