काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण बन्द रंगशालामा खेलिएको खेलमा लियोनल मेस्सीसँग सेल्फी लिन मैदान पसेका एक समर्थकविरुद्ध ला लिगाले फौजदारी मुद्दा लगाएर कारबाही गर्ने भएको छ।
शनिबार राति ला लिगा अन्तर्गत बार्सिलोना र मायोर्काबीचको खेलमा मेस्सीको अर्जेन्टिनी जर्सी लगाएका एक दर्शक मैदान पसेका थिए। उनी मेस्सीको नजिक पुग्नै लाग्दा सुरक्षाकर्मीले उनलाई पक्राउ गरेका थिए। मायोर्कालाई ४–० ले हराएको खेलको दोस्रो हाफमा उनी मैदान पसेका थिए।
ला लिगाले ती दर्शकको व्यवहारलाई जटिल रुपमा हेरिएको र फौजदारी अन्तर्गत कारबाहीका लागि अघि बढ्ने जनाएको छ। ‘यस्ता खाले हर्कतले अहिलेको समयमा अरुको स्वास्थ्य जोखिममा पार्ने काम हुन्छ’ लिग अयोजकले भनेका छन्।
मेस्सीसँग तस्बिर खिच्न मैदान पसेका ती दर्शकले त्यहाँसम्म पुग्न निकै दुःख गरेको र दुई मिटर अग्लो बार नाघेको बताएका छन्। ‘खेल हुँदैछ भन्ने थाहा पाएदेखि नै मैले त्यसको योजना बनाएको थिएँ। म मेस्सीसँग भेटेर तस्बिर लिन चाहन्थेँ’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।