काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व माओवादीको आधार इलाकामै जातीयताका घटना हुनु पीडादायी भएको बताएका छन्।
रुकुम पश्चिम चौरजहारीमा जेठ १० गते भएको घटनाको छानविन गर्न बनेको संसदीय टोलीसँग कुरा गर्दै प्रचण्डले जातीय मुक्तिको लागि आधार इलाका बनाउन रुकुममै बसेको स्मरण गरे।
उनले भने,‘जातीय विभेदको अन्त्यका लागि लडेको केन्द्रविन्दुमै अमानवीय घटना भएको छ।’ जनयुद्धको केन्द्रभागमा जातीयताकै कारण भएको उक्त घटनाको पीडा फरक भएको उनले बताए। रुकुम घटनाले लज्जाबोध बनाएको उनको भनाइ थियो।
ज्यान गुमाउने र घटना घटाउने दुवैतर्फ नेकपाका मतदाता भएको उनले बताए। उक्त घटनाबारे प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख भएका विषयबारे आफूले अध्ययन गरेको उनले बताए।
संसदले घटनाको छानविन गर्न नेकपा नेता देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय टोली बनाएको छ। पौडेल नेतृत्वको टोली घटनास्थलतर्फ सोमबार जाने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।