काठमाडौं- केही दिनदेखि स्वतन्त्र रुपमा सरकारको कार्यशैली विरुद्ध प्रर्दशनमा उत्रेका युवाहरुले आइतबार बौद्धनाथ अगाडि धर्ना दिएका छन्।
शनिबार माइतीघर मण्डलामा भएको धर्नाकै शैलीमा बौद्धमा पनि धर्ना दिइएको हो।
मुखमा मास्क लगाएर सरकारको कोरोना नियन्त्रणको कामप्रति प्रश्न उठाउँदै युवाहरुले शतप्रतिशत पिसीआर परीक्षण गर्न माग गरेका छन्। सरकारले बेसार खान सुझाब दिनुभन्दा पिसीआर परीक्षण गर्नुपर्ने युवाहरुको सुझाब थियो।
हालै जारी भएको नेपालको चुच्चे नक्सालाई पनि उनीहरुले स्वागत गरेका छन्। भारतीय सञ्चार माध्यमहरुले गलत प्रचार गरेको प्रति युवाहरुले विरोध जनाएका छन्।

पछिल्ला दिनमा युवाहरुले स्वतःस्फूर्त रुपमा सरकारले गरेका कमजोरी सच्याउन माग गर्दै प्रर्दशन गरिरहेका छन्। यसरी प्रर्दशनमा उत्रेकाहरु स्वयंले नै सामाजिक दूरी कायम गरिरहेका थिए भने सुरक्षित हुन स्यानिटाइनर पनि वितरण गरिरहेका थिए।
‘यो पार्टी न त्यो पार्टी, हामी सबै नेपाली’, ‘सरकारलाई करको चिन्ता, हामी जनतालाई भोकको चिन्ता’, ‘बेसार होइन पिसिआर’, ‘कमसल आरडिटी होइन, भरपर्दो पिसिआर खरिद गरौं’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर धर्ना दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।