काठमाडौं- नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले भारतबाट फर्केका मानिसहरु २० दिनसम्म क्वारेन्टाइनमा बस्दा समेत पिसिआर परीक्षण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै तिमल्सिनाले सरकारको खर्चमा विश्वास गर्न सकिने आधार नदेखिएको आरोप लगाए। ‘सरकारले १० अर्ब खर्चको हिसाब देखाएको छ तर जिल्लामा कोरोना परीक्षण नभएर मानिसहरु २० दिनसम्म क्वारेन्टाइनमा बसिसकेका छन्,’ उनले भने, ‘सो रकम कहाँ र कसरी खर्च भएको हो विस्तृत सार्वजनिक हुनुपर्यो।’
उनले पिसिआर परीक्षण किन मरेपछि हुन्छ भन्दै त्यसअघि नै परीक्षण गर्ने व्यवस्था मिलाउन माग गरे। ‘जिल्लामा परीक्षण हुन सकेको छैन। यत्रो पैसा कहाँ खर्च भएको छ,’ उनले भने, ‘सत्ता पक्षका मानिसले पनि भन्नु होला नि कुनकुन क्षेत्रमा गएको छ।’ सरकारले दशौ हजार क्वारेनटिनमा बसेका मानिसहरुको परिक्षण छिट गर्न उनले माग गरे ।
‘मेरो जिल्ला रौतहटमा खुला चौरमा मानिस २० दिनदेखि अलपत्र छन्। प्रधानमन्त्री नेपालीको इम्युनिटी पावर उच्च छ भनेर बस्नु भएको छ,’ उनले भने, ‘मानिस खाना नपाएर भोकले मर्न लागिसकेका छन्। अहिले खेतीको समय छ तर मल पाइँदैन। बीउ पाइँदैन। सरकारले के दिन्छ? उखान टुक्का। उखान टुक्काले पेट भरिन्छ?। प्रधानमन्त्रीले मल र बीउ मैले दिन्छु भन्नुपर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।