काठमाडौ- स्वदेश फर्किने नेपालीहरूका लागि भाडादर पुनरावलोकन हुने भएकाे छ। शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा भएकाे छलफलमा हालको प्रस्तावित हवाई भाडादरमा पुनरावलोकन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भट्टराईले नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सलाई अनुरोध गरेपछि नेपाल वायुसेवा निगमले हवाई भाडादरमा पुनरावलोकन गरेकाे हाे।
सरकारको अनुरोधबमोजिम खाडी राष्ट्रहरूलगायत नेपालीहरूको मुख्य श्रम गन्तव्य मुलुकहरूबाट नेपाली नागरिकहरूलाई नेपाली विमानहरूमार्फत स्वदेश फर्काउन यसभन्दा अगाडि जारी गरिएको भाडादरका सम्बन्धमा आएका गुनासाहरूलाई सम्बोधन गर्न गरिएको अधिकतम प्रयासस्वरुप हवाई भाडादर घटाउने निर्णय लिइएको हाे। कुल लागतकाे २० प्रतिशत वा १०० डलरसम्म भाडा घटाउने निर्णय भएकाे भएकाे विज्ञप्तिमा उल्लेख गरिएको छ।
विभिन्न देशमा रहेका नेपालीहरूका पिरमर्कालाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले यस विषम परिस्थितिमा मुनाफाभन्दा पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै चार्टर उडानको भाडादर घटाउने निर्णय लिएको हो।
‘यस निर्णयबाट विशेषगरी खाडी राष्ट्र, मलेसिया र साइप्रसमा रहेका नेपाली नागरिकहरूलाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिएका छौं। नेपाल वायुसेवा निगम सम्पूर्ण नागरिकहरुको सेवामा सदैव तत्पर छ’ जारी विज्ञप्तिमा भनिएकाे छ। त्यस्तै हिमालयन एयरलाइन्सले भने आन्तरिक छलफलपछि निर्णय गर्ने उल्लेख गरेकाे छ।
नयाँ तय भएको भाडा
अब मलेसियाको भाडा ४ सय ६५ डलरबाट घटेर ३७२ डलर निर्धारण भएको छ।
यसैगरी, कतारको दोहाको हकमा ४ सय ९० डलरबाट ३ सय ९२ डलर, युएईको हकमा ४ सय ५० डलरबाट घटेर ३ सय ९०, साउदी दमामको हकमा ५ सय ३० डलरबाट ४ सय ३० डलर कायम भएको छ। खाडीस्थित अन्य गन्तव्यका यसअघिको घाडामा १ सय डलर घटाइएको छ।
जेद्दाको ६ सय ९० बाट घटेर ५ सय ९० डलर, ओमनको हकमा ४ सय ६० बाट घटेर ३ सय ६८ डलर, बराइनको हकमा ३ सय ९२ डलर, कुवेतको हकमा ४ सय १० डलर‚ जोर्डनको हकमा ६ सय ७५ डलर, साइप्रसको हकमा ७ सय ३० डलर नयाँ भाडा तय भएको छ। अन्य गन्तव्यको भने यथावत नै रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
देश | पहिला तय भएको भाडा (डलर) | नयाँ तय भएको भाडा |
मलेसिया | ४६५ | ३७२ |
कतार (दोहा) | ४९० | ३९२ |
युएई | ४५० | ३९० |
साउदी (दमाम) | ५३० | ४३० |
जेद्दा | ६९० | ५९० |
ओमन | ४६० | ३६८ |
बहराइन | | ३९२ |
कुवेत | | ४१० |
जोर्डन | | ६७५ |
ससाइप्रस | | ७३० |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।