काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्र फिर्ता लिने ऐतिहासिक गौरव सदनलाई प्राप्त भएको बताएका छन्।
सरकारद्वारा अघि बढाइएको संविधान संशोधन विधेयकमाथिको दफाबार छलफलमा बोल्दै प्रचण्डले लिपुलेक,कालपानी र लिम्पियाधुराको भू-भाग समेटेर नक्सा ल्याउने कार्य गणतन्त्रको उपलब्धि भएको बताए।
उनले प्रधानमन्त्री र सरकारलाई विशेष धन्यवाद दिए।
उनले समस्यालाई सधैंको लागि समाधान गर्ने प्रयत्नमा आफूहरु रहेको बताए।
उनले सबै दलको सहमतिमा अघि बढिएकाले भएकाले हामी संकटको समयमा एक हुन्छौं भन्ने देखिएको दाबी गरे। सर्वदलीय बैठक बोलाउने कुरा आफूले प्रधानमन्त्रीसँग कुरा गर्न जाँदा प्रधानमन्त्री पनि त्यसका लागि तयार भएको भन्दै सबै दलहरुका बीचमा एकमत भएको उनले बताए। आफ्नो भौगोलिक क्षेत्र र सार्वभौमिकता रक्षाका लागि एकमत हुने दाबी दाहालले गरे।
भारतले नयाँ नक्सा जारी गरेपछि आफूहरुलाई झक्झक्याएको उनले बताए।
उनले नक्सा जारी गर्नुअघि वार्तामा जोड दिएको बताए। ‘पटकपटक पठाइएको चिठीपछि पनि वार्ता भएन। वार्ता भएको भए विभिन्न विकल्पमा छलफल हुनसक्थ्यो। वार्ता भएन बरु जिम्मेवार भारतीय नेताबाट बाटो उद्घाटन भयो’, उनले भने, ‘त्यसले हामीलाई तरंगित बनायो, नेपाली जनतालाई चुनौती दिएजस्तो महसुस भयो। त्यसले हामीलाई नेपाली भूमि फिर्ता ल्याउन नकारात्मक रुपमा उत्प्रेरित गर्यो। त्यसका लागि धन्यवाद। हामी त अलि अर्कै तरिकाले समस्या समस्या समाधान होस् भन्ने चाहेका थियौं।‘
उनले आफूहरुले भारतसँग शान्तिपूर्वक समाधान चाहेको बताए। उनले आफूहरुले भारतसँग वार्ताका लागि अधिकतम प्रयास गरेका हौं। ‘भारतलाई हामी आग्रह गर्न चाहन्छौं- हामीले मित्रता चाहेका छौं’, उनले भने, ‘यसमा भारतको मैत्री र सहयोग आवश्यक छ।’
प्रचण्डले आफूहरु बचकना आवेगमा नभएको प्रष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।