काठमाडौं- संसद बैठक सुरु हुनुअघि नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा बस्ने भएको छ। संविधान संशोधन विधेयक संसदबाट पारित गर्नुअघि सांसदहरुलाई अनिवार्य उपस्थित भई मतदानमा भाग लिन निर्देशन दिनको लागि संसदीय दलको बैठक बस्न लागेको हो।
कांग्रेसकी सचेतक पुष्पा भुसालका अनुसार करिब साढे १२ बजे बस्ने कांग्रेसको संसदीय दलको बैठकले आफ्ना सांसदलाई संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिनेछ।
‘आजको बैठकको एजेण्डा भनेको संविधान संसोधनको विषयमा हो’, भुसालले भनिन्, ‘संविधानको संशोधनको पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिने छ।’
कांग्रेसले यसअघि नै संशोधनको पक्षमा उभिने निर्णय गरिसकेको छ। संसदीय दलबाट पनि निर्णय गर्ने भन्दै बैठक बस्न लागेको हो।
बैठक संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने उनले जानकारी दिइन्।
हालसम्म संसदका सबै राजनीतिक दल संविधान संशोधनको पक्षमा उभिएका छन्।
समाजवादीकी सांसद सरिता गिरीबाहेक सबै सांसदहरुले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेकोमा स्वागत गरिसकेका छन्। 
शनिबार निशान छापमा नयाँ नक्सा अद्यावधिक गर्न संविधानको अनुसूची ३ मा सरकारले गर्न लागेको संविधान संशोधन विधेयक पारित हुँदैछ। संविधान संशोधनको लागि दुईतिहाइ बहुमत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।