काठमाडौं- सेञ्चुरी बैंकले कोभिड १९ को महामारीको समयमा राहत पुग्ने भन्दै तीन प्रतिशत अन्तरिम नगद लाभांशको घोषणा गरेको छ। कोभिड १९ का कारण वार्षिक साधारणसभा हुन नसक्दा बैंकले यसअघि घोषणा गरेको नगद लाभांश वितरण गर्न सकेको छैन। बैंकले चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँको ४.७५ प्रतिशत नगद लाभांशको घोषणा गरेको थियो।
कोभिड १९ ले गर्दा साधारणसभा अनिश्चितकालका लागि रोकिएको छ। गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न नसक्ने अवस्था आएपछि बैंकले अर्को साधारणसभाबाट पारित गर्नेगरी अहिले नगद वितरण गर्ने भएको छ। यसअघि घोषणा भएको ४.७५ मध्ये तीन प्रतिशत अहिले र बाँकी साधारणसभाबाट पारित भएपछि मात्रै वितरण गर्नेछ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट ३९ करोड ९७ लाख रुपैयाँ लाभांशको प्रस्ताव गरेको छ। यसमध्ये तत्काल २५ करोड २४ लाख रुपैयाँ अहिले वितरण गर्नेछ। जसमा कर कट्टिपछि शेयरधनीको हातमा २३ करोड ९८ लाख रुपैयाँ पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।