काठमाडौं- बिहीबार नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दियो। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हालसम्म सबैभन्दा बढी प्रदेश २ र सबैभन्दा कम बागमती र गण्डकीमा बराबर १४७ जनामा यसको संक्रमण पाइएको मन्त्रालयले जानकारी दिएको छ।
डा जागेश्वर गौतमका अनुसार बिहीबारसम्ममा प्रदेश १ का १२ जिल्लामा यसको संक्रमण फैलिएको छ। यी जिल्लामा ३०७ जना संक्रमित पाइइएका छन्।
यस्तै प्रदेश २ का ८ जिल्लामा १ हजार ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै बागमती प्रदेशका १२ जिल्लामा १४७ जनामा कोरोना संक्रमण पाइएको छ भने गण्डकी प्रदेशका ९ जिल्लामा पनि १४७ जनामा नै यसको संक्रमण पुष्टि भएको छ।
यस्तै प्रदेश ५ मा १ हजार ३ सय ९९ जना र कर्णाली प्रदेशमा ७५९का साथै सदूरपश्चिम प्रदेशका १९२ जनामा कोरोना संक्रमण पाइएको छ।
७२ जिल्ला पुग्यो कोरोना
बिहीबार २० महिलासहित २३० पुरुषमा बुधबार कोरोना संक्रमण देखिएको हो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नारायणी अस्पतालमा गरिएको परीक्षणमा रौतहटका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणमा बारा र धादिङका सात सात जना गरी १४ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २, रौतहटका १५, महत्तरीका ४ जनामा समेत संक्रमण पुष्टि भएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ९, कोशी अस्पताल विराटनगरमा झापाका ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका ८ जनामा संक्रमण पाइएको छ।
भेरी अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा रोल्लाका १४ नजाका साथै बाँकेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४८ र सुर्खेतका ७ जना कोरोना संक्रमित देखिएका छन्।
यस्तैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १, प्युठानका ४ र रुपन्देहीका २९ जना संक्रमित पाइएको मन्त्रालयले जनाएको छ।
सेती अस्पतालको प्रयोगशालामा कैलालीका ७, बाजुराका १८, बझाङका २ जनामा संक्रमण पाइएको छ। धुलिखेल अस्पतालको प्रयोगशालामा नवलपरासी पश्चिमका ६ जनामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रौतहटका ३९ जनाका साथै कपिलवस्तुका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ।
हालसम्म १ लाख १५ हजार ९ सय ३० जनाको आरटीपिसिआर परीक्षण गरिएको छ। बिहीबार मात्रै ५ हजार १ सय ९४ जनामा कोरोना संक्रमण जाँचका लागि पिसिआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार थपिएकासहित नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन्।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ। हालसम्म यसबाट संक्रमित भएर १५ जनाको भने यसबाटै मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।