काठमाडौं- लकडाउनका कारण गत वर्ष रोकिएको कक्षा १० को अन्तमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) यसवर्ष नगर्ने निर्णय सरकारले गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा कोरोना महामारीका कारण रोकिएको एसइई परीक्षा तत्काल गर्न सक्ने अवस्था नभएको र शैक्षिक वर्ष क्षति हुन नदिनका लागि सम्बन्धित विद्यालयले गरेको मूल्यांकनलाई नै मान्यता दिने गरी निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपाल लाइभसँग भने।
'हालको परिस्थिति विचार गर्दा तत्काल एसइई परीक्षा संचालन गर्न सक्ने उपयुक्त अवस्था अझसम्म बनिसकेको छैन। शैक्षिक वर्ष क्षति हुन नदिन सरकारले यस वर्षका लागि एसईई परीक्षाको साटो विद्यालयले गरेको मूल्यांकनलाई नै मान्यता दिने निर्णय गरेको छ,' मन्त्री पोखरेलले भने।
गत चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा ५ गते मात्र सरकारले स्थगित गर्ने घोषणा गरेको थियो। लकडाउन खुल्ला भएपछि जेठको अन्तिम साता परीक्षा संचालन गर्ने तयारी गरेपनि तत्काल गर्न नसकिने अवस्था आएको भन्दै मन्त्रालयले यस्तो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो।
सरकारको पछिल्लो निर्णयसँगै करिब ४ लाख परीक्षार्थीको मूल्यांकन विद्यालयले नै गर्ने भएको छ। विद्यालयले पठाएको विवरणका आधारमा नै राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले परीक्षाफल प्रकाशन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।