काठमाडौं- सांसद सरिता गिरिलाई संशोधन प्रस्ताव फिर्ता लिन उनी आवद्ध दल समाजवादी पार्टीले निर्देशन दिएको छ। सरकारले दर्ता गराएको संविधान संशोधनविरुद्ध संशोधनको दर्ता गराएकी उनलाई फिर्ता नलिए कारबाही गर्ने चेतावनी पार्टीले दिएको छ।
पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उनलाई पत्र लेख्दै संसदीय दलको निर्देशनबिना उक्त संशोधन दर्ता गराएकाले फिर्ता नलिए कारबाही गरिने बताएका छन्।
उनलाई दिइएको निर्देशन पत्रमा भनिएको छ, ‘निर्देशन पालना नगरेको तपाईंलाई कारबाही गर्ने व्योहोरा जानकारी गराइन्छ।’
गिरिले बुधबार दिउसो संशोधन सूचना दर्ता गराएकी छन्। संविधानको निशान छापमा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भएको नक्सा राख्न सरकारले संशोधन प्रक्रियाअघि बढाएको छ। उनले नेपालको नयाँ नक्साका विषयमा फरक मत राख्दै संशोधन दर्ता गराएकी हुन्। भारतलाई सोधेर मात्रै लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्नुपर्ने उनको मत छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।