फाइल फोटो
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) मा राष्ट्रिय जनता पार्टी समूहका केही नेताहरुले नेतृत्व व्यवस्थापनमा असन्तुष्टि जनाएका छन्। राजपाका अनिल झा, राजकिशोर यादव र महेन्द्र राय यादलले असन्तुष्टि जनाएका हुन्।
ती नेताहरुले आफूलाई नेतृत्व तहमा ठाउँ नदिएको भन्दै असन्तुष्टि पोख्ने गरेको जसपाका एक शीर्ष नेताले बताए। यस्तै केन्द्रीय कार्यकारी समितिमा आफ्ना समूहको कम प्रतिनिधित्व भएको भन्ने विषयमा समेत विरोध जनाएका छन्।
एकतामा पहिलेदेखि नै विपक्षमा देखिएका अनिल झा, राजकिशोर यादव र महेन्द्र राय यादवले नेतृत्वमा आफ्नो ठाउँ हुनुपर्ने मत राखेका थिए। समाजवादीसँग एकता भएपछि आफ्नो भूमिका देखिनेगरी हुनुपर्ने भन्दै दबाब दिइरहेका थिए। गत वैशाख १० गते रातारात समाजवादी र राजपाबीच एकता भएपछि बाहिर देखिनेगरी सार्वजनिक रुपमा व्यक्त नगरे पनि भित्री रुपमा खुसी दिएनन्।
एकतामा नेतृत्वको व्यवस्थापनमा समाजवादीबाट ६ जना र राजपाबाट ६ जना अध्यक्ष मण्डल बनाएर जानुपर्ने तीनै जनाको मत थियो। तर नेतृत्वमा धेरै जना हुँदा पार्टी सञ्चालनमा गाह्रो हुने भन्दै दुई जनालाई मात्रै राखेर जाने निर्णयमा जान सहमत भएका थिए।
अन्तिमसम्म अनिल झा, महेन्द्र यादव र राजकिशोर यादवले नेतृत्व व्यवस्थापन गर्दा आफ्नो स्पेस हुनेमा आशावादी थिए। निर्वाचन आयोगमा दल दर्ता गर्नेक्रममा तीनै जनालाई नेतृत्व तहमा नराखी केन्द्रीय कार्यकारी समिति मात्रै सिमित गरेपछि असन्तुष्ट भएका हुन्। तर जसपाका नेता महेन्द्र राय यादवले पार्टी पद र वरियतामा आफहरुको असन्तुष्टि नभएको बताए।
एकताबाट आफूहरु पूर्ण रुपमा सन्तुष्ट भएको दाबी गरे। आज सन्तुष्ट राजपा समूहको संसद बैठकपछि छलफल गर्ने तयारी गरेको एक नेताले बताए। आफ्नो पद र वरियतासँगै केन्द्रीय कार्यकारी समितिमा आफ्नो पक्षका नेता कम समेटिएको आरोप लगाएका छन्।
केन्द्रीय कार्यकारीमा कुन समूहको कति
केन्द्रीय पदाधिकारीमा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव रहनेगरी बनाएको छ। वरिष्ठ नेतामा अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो मात्रै राखिएको छ। बाबुराम र राजेन्द्रको वरियता र पद दुवै हेरफेर गरिने भद्र सहमति भएको भनिएको छ।
केन्द्रीय कार्यकारी समिति ५३ जनाको भनिए पनि तत्काल दुवै समूहबाट २६/२६ सदस्यीय मात्रै बनाएको छ। एक जना सदस्य समाजवादीबाट थपिने भएको छ। जसमध्ये सबैभन्दा धेरै राजपा समूहमा किचलो भएको छ।
महन्थ ठाकुर पक्षबाट ९ जना, राजेन्द्र महतो पक्षबाट ८ जना, शरतसिंह भण्डारी र महेन्द्र राय पक्षबाट ३/३ जना राखिएको छ। अनिल झा, राजकिशोर यादवबाट आफूमात्रै समेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।