काठमाडौं- मंगलबार नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३१ महिलासहित २९२ पुरुष गरी थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मंगलबार थपिएकासहित नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।
मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमित भेटिएका छन्। तर उनीहरु कुन जिल्लाका हुन् भन्ने चाँहि प्रवक्ता गौतमले खुलाएनन्।
यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका १ जनामा कोरोना संक्रमित भेटिएका छन्। इलाममा पहिलोपटक कोरोना संक्रमित भेटिएको हो।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका १ र सप्तरीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतुपरमा गरिएको परीक्षणमा चितवनका २४, नवलपुरका ३, धादिङका १, कपिलवस्तुका १ र सप्तरीका एक जनामा पनि कोरोना संक्रमण भेटिएको उनले बताए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा म्याग्दीका १, नवलपरासीका १२ र बाग्लुङका ११ जनामा कोरवना संक्रमण पुष्टि भएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा धनुषाका २१, महोत्तरीका १९ र सर्लाहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनामा संक्रमण देखिएको छ।
सुर्खेतको प्रयोगशालामा सल्यानका १२ र सुर्खेतका ४ जनामा कोरोना संक्रमित पुष्टि भएका छन्। सेती अस्पतालको प्रयोगशालामा दार्चुलाका १०, कञ्चनपुरका १९, डडेल्धुराका ७ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रुपन्देहीका २२ जना र कपिलवस्तुका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषामा २४, कपिलवस्तुका ७, महोत्तरीका ३१, नवलपरासी पश्चिमका १२ जना, नुवाकोटका २ जना, रौतहटका २१ जना, सर्लाहीका १६ र सिराहाका १२ जनामा पनि मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालमा हालसम्म ५८४ जना उपचारपछि निको भएका छन्। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।