फाइल तस्बिर
काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा छलफल गर्न बोलाएको सचिवालय बैठक स्थगित भएको छ।संसदबाट एमसिसी पारित गर्ने वा नगर्ने भन्ने विषयमा नेकपाले मंगलबार ४ बजे सचिवालय बैठक बोलाएको थियो। प्रधानमन्त्रीको कार्यव्यस्तताले गर्दा सचिवालय बैठक स्थगित भएको जानकारी आएको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले नेपाल लाइभलाई जानकारी दिएको छ।
गत मंसिर २९ गते स्थायी कमिटी बैठकमा एमसिसी संसदबाट पारित गर्ने विषयमा विवाद भएको थियो। स्थायी कमिटीमा विवाद भएपछि माघ १५ देखि १९ गतेदेखि केन्द्रीय बैठकमा छलफल भएको थियो।
केन्द्रीय कमिटी बैठकले माघ २० मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा भीम रावल र प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल बनाएको थियो। कार्यदलले एमसिसीमा भएका केही प्रावधान संशोधन गरेर मात्रै संसदबाट पारित गर्नु पर्ने भन्दै २० फागुनमा अध्यक्ष केपी ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएका थिए।
बजेटमा एमसिसी समावेश भएपछि यो विषय नेकपामा अझ बढी विवादित बन्दै आएको छ। लामो सयम बित्दा समेत सत्तारुढ नेकपाले एमसिसीको विषय टुंग्याउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।