काठमाडौं- स्पेनिस क्लब बार्सिलोनामा रहेका युवा खेलाडीहरुको अहिले विशेष एउटा लक्ष्य हुन्छ, कप्तान लियोनल मेस्सीसँग केही सिकौँ। आधुनिक फुटबल पुस्ताका पछ्याउन लायक खेलाडी मेस्सीसँग अभ्यासका दौरानदेखि खेलका समयसम्म केही सिक्न पाइने आश नयाँ खेलाडीहरु व्यक्त पनि गरिरहेका हुन्छन्।
यस्तैमा बार्सिलोनाका मिडफिल्डर फ्रान्क डि योङले पनि मेस्सीका सुझावहरु फलदायी हुने बताएका छन्। एक खेलाडीलाई खेलमा अघि बढ्न र आफ्नो स्तरमा सुधार गर्न मेस्सीले सधैँ सहयोग गर्ने उनको भनाइ छ।
‘यसअघि आयाक्समा हुँदा र नेदरल्याण्ड्सको राष्ट्रिय टिममा पनि मेरो भूमिका र खेलशैली अलि भिन्न थियो। त्यहाँ हामी दुई डिफेन्सिभ फिडफिल्डरसहित खेल्थ्यौँ। अहिले बार्सिलोनामा त्योभन्दा फरक छ। मैले यो शैली पूरा आत्मसाथ गर्न सकिसकेको छैन, अझ सुधार गर्नेछु’ डि योङलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
‘म पूरा डिफेन्सिभ भएर वा पूरा अट्याकिङ भएर खेल्दा राम्रो देखिँदैन। त्यसका लागि बीचको बाटोबाट सुधार गर्नुपर्छ। त्यस्तोमा यदि लियोनल मेस्सीले केही भनिरहेका छन् र सुझावहरु दिइरहेका छन् भने त्यो सुन्नुपर्छ। विश्वका उत्कृष्ट खेलाडीले भनेका कुराहरु पछ्याउन सके निकै फाइदा पुग्नेछ’, उनले भने, ‘बेलाबेला मेस्सीले निकै भित्री तहमा पुग्न र बेलाबेला साइडबाट अगाडि बढ्न भनिरहेका हुन्छन्। उनले भनेका साना साना कुराहरुले पनि खेलमा निकै फरक पारिरहेको हुन्छ।’
२०१९ को जनवरीमा आयाक्स छाड्ने समय उनको दिमागमा बार्सिलोना बाहेक अरु कुनै क्लब नरहेको डि योङ बताउँछन्। ‘बार्सिलोनाका लागि खेल्नु मेरो सपना हो। बिदाको समय म स्पेन आएर बार्सिलोनाको खेल हेरिरहेको हुन्थेँ। नेदरल्याण्ड्सबाहिर मेरो सबैभन्दा मनपर्ने क्लब नै बार्सिलोना हो। सुरुमा त बार्सिलोनाले मलाई चाहन्छ भन्नेमा विश्वास थिएन। तर अहिले म यहाँ छु’ उनले भने।
अहिले रंगभेदविरुद्ध भइरहेका आन्दोलनबारे पनि डि योङले आफ्ना विचार राखेका छन्। उनी भन्छन्– जुनसुकै रंगको भए पनि सबै मानव समान होइनन् र? मानिसहरु अझै पनि विभेद गर्दैछन् भन्ने देख्दा असाध्यै दुःख लाग्छ। मानिसहरु त्यस्तो नराम्रो सोचिरहेका हुन्छन् भन्ने म त कल्पनासम्म पनि गर्न सक्दिनँ।
कठिन परिस्थितिबाट गुज्रिरहेको बार्सिलोना मे महिनादेखि नै अभ्यासमा छ। तीन महिना रोकिएको लिग जुन १२ बाट सुरु हुँदैछ। लिगमा रियल मड्रिडसँग दुई अंकको अग्रतासहित बार्सिलोना शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।