काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ७० लाख कटेको छ। जोन्स होप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्यांकअनुसार विश्वभरमा हालसम्म ७० लाख १७ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो नेपाली समयअनुसार सोमबार दिउँसो १ बजेर ४५ मिनेटको तथ्यांक हो।
हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा पुष्टि भएका छन्। अमेरिकामा कोरोना संक्रमितको संख्या १९ लाख ४२ हजार २ सय ६३ छ। त्यस्तै, ब्राजिलमा यसबाट संक्रमित हुनेको संख्या ६ लाख ९१ हजार ७ सय ५८ पुगेको छ। ब्राजिलपछि तेस्रो स्थानमा रहेको रुसमा ४ लाख ६७ हजार ७३ जना कोरोना संक्रमित भएका छन्।
विश्वभरमा हालसम्म यसबाट ४ लाख २ हजार ८ सय ९४ जनाको मृत्यु भएको छ। यस्तै ३१ लाख ४३ हजार १ सय ४८ जना भने संक्रमण मुक्त भएको विश्वविद्यालको तथ्यांक छ।
नेपालको छिमेकी मुलुक भारतमा २ लाख ५८ हजार ९० जनामा संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा भारत पाँऔं स्थानमा छ। भारतमा १ लाख २४ हजार ९५ जना संक्रमण मुक्त भएका छन् भने ७ हजार २ सय ७ जनाको मृत्यु यसकै कारणबाट भएको छ।
नेपालमा पनि हालसम्म ३ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २ सय ६७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको भने मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।