काठमाडौँ- मधेसी जनताको हक अधिकार र पहिचानका लागि संघर्ष गरेका मधेस केन्द्रित दल ३१ वर्षपछि एक भएका छन्। लामो रस्साकस्सीपछि विभिन्न चिरामा विभाजित मधेस केन्द्रित दल आज निर्वाचन आयोगमा दर्ता गर्न कागजपत्र बुझाएपछि वैधानिक रूपमा एक भएका हुन्। मधेस केन्द्रित दल एक भएपछि मधेसी जनताको मुक्तिका लागि भन्दै संघर्ष गरेका नेताहरू निर्वाचन आयोगमा खुसी देखिएका थिए।
निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दस्तावेज बुझाउन जानुअघि आइतबारै जसपामा डा बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने सहमति भएको थियो। उनको वरीयता पनि पहिलो नम्बरमा बनाउन सहमति जुटेर मिडियामा मसेत आएको थियो। त्यतिबेलाको सहमतिअनुसार केन्द्रीय समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादवलाई बनाउने भन्ने थियो। वरिष्ठ नेता आशोक राई र राजेन्द्र महतोलाई बनाउने तयारी थियो।
तर यस्तो सहमति केही घण्टा पनि टिक्न सकेन। ठाकुरले वरीयतामा समस्या हुने भन्दै असन्तुष्टि जनाएपछि डा बाबुरामलाई संघीय परिषद् अध्यक्ष बनाउने सहमति केही प्रहरकै अन्तरालमा उल्टियो। नेता ठाकुर र डा भट्टराईबीच पद तथा वरीयता विवाद लम्बिएपछि भट्टराई स्वयम् वरिष्ठ नेतामा बस्न तयार भएका थिए। यसपछि सहमति बनेर निर्वाचन आयोग पुगेर जसपाले आइतबारै नयाँ दल दर्ता गर्न आवश्यक दस्तावेजहरू बुझाउन सफल भयो।
'ठाकुर र भट्टराईको पद र वरीयतालाई लिएर निर्वाचन आयोगमा दर्ता गर्ने आइतबारको समय घर्किन लागिसकेको थियो। जति छलफल गरेपनि कुरा मिल्न सकेको थिएन। अन्तमा डा भट्टराईले 'वरीयतामा चौथो नै भएपनि निर्वाचन आयोगमा दर्ता गरौँ' भनेपछि सहमति भयो,’ जसपा नेताहरूबीच सहमति निकाल्न खटिएका एक नेताले नेपाल लाइभसँग भने, ‘शीर्ष नेताहरूबीचको छलफलमा पार्टी दर्ता गरेपछि छलफल गरेर भट्टराईलाई संघीय परिषद अध्यक्षसँगै वरीयतासमेत हेरफेर गर्ने सहमति भएको छ।’ पार्टीमा भद्र सहमति भइसकेकाले भट्टराईको पद र वरीयता हेरफेर गर्न कुनै गाह्रो नभएको ती नेताको दाबी छ।
डा बाबुराम निकट नेता विश्वदीप पाण्डेले बाबुराम भट्टराईले दल दर्ता गर्ने क्रममा सहजीकरण गरेको बताउँदै पार्टीको बैठकबाट धेरै विषय स्पष्ट हुने बताए। ‘वैचारिक र सांगठनिक कुरा छलफल हुन बाँकी रहेको तर निर्वाचन आयोगमा पुग्नैपर्ने बाध्यता भएकाले आज २ पार्टीबाट १/१ जना अध्यक्षको नाममा संयूक्त पार्टी दर्ता गरौँ। म पार्टीको सदस्य मात्रै हुन्छु भन्दै बाबुरामले पार्टी एकता बैठकमा सहजीकरण गर्नु भएको हो,’ नेता पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोही साथीहरू हल्लाहरुबाट भ्रमित हुने जरुरी छैन। बाँकी कुरा अब छिट्टै बस्ने केन्द्रीय समिति बैठकले चित्तबुझ्दो हुने गरी निर्णय गर्नेछ।’
जसपामा पद र वरीयतालाई लिएर धेरै विवाद भएपछि भट्टराईले उधारो सहमति गरेर चौथो वरीयतामा चित्त बुझाएका छन्। पार्टीमा पूर्वप्रधानमन्त्रीसमेत भइसकेका डा भट्टराई योग्यता र क्षमताले अरु नेताभन्दा माथि भएपनि जनमत कमजोर हुँदा जसपाको वरीयतामा तल पर्न पुगेका छन्। जसपालाई राष्ट्रिय पार्टीको रूपमा चर्चा गरिएपनि मधेस 'बेस्ड' पार्टीको रूपमा स्थापित हुने देखिएको छ। जनमत र मुद्दा दुवै दृष्टिकोणले मधेस केन्द्रित दलका रूपमा रहने सम्भावना धेरै छ। तर, पार्टीका शीर्ष नेताहरूले राष्ट्रिय पार्टी हुनुका साथै वैकल्पिक शक्ति बनी नै सकेको दाबी गरेका छन्।
राजेन्द्र महतोले पनि नवगठित जसपा अध्यक्षमा दाबी गरेका थिए। पार्टीमा महन्थ ठाकुर सर्वमान्य नेता भएकाले तत्कालका लागि महताले वरिष्ठ नेतामा चित्त बुझाएका छन्। महतोलाई संसदीय दलको नेता बनाउने भद्र सहमति भएको अर्का एक नेताले बताए। तत्काल महतोलाई संसदीय दलको नेता नबनाए पनि पार्टीको बैठकबाट छलफल गरेर दलको नेता बनाउने सहमति भइसकेको ती नेताको दाबी छ। भट्टराईभन्दा महतोलाई संसदीय दलको नेता बन्न सजिलो पनि देखिएको छ। पार्टीको मुद्दा, जनमत र पार्टीमा यसअघि नेतृत्व गरिसकेकाले महतो दलको नेता हुने सम्भावना बलियो रहेको देख्न सकिन्छ। तर, उनले पूर्व राजपा समूहलाई मिलाउन कति सफल हुन्छन् भन्ने चाँहि हेर्न बाँकी छ।
पदाधिकारीलाई तत्काल पूर्णता दिइने
एकता भएको ४५ दिनपछि जसपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। जसपाले आधिकारिक रुपमा निर्वाचन आयोगमा १३९२ नम्बर पाएर वैधानिकता पाएको छ। पार्टीमा अध्यक्ष र वरिष्ठ नेता मात्रै टुंगो लगाएपनि पदाधिकारी छिट्टै तय गरिने नेता राजेन्द्र श्रेष्ठले बताए। पार्टीमा अध्यक्षपछि उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष सहकोषाध्यक्षलगायत पदाधिकारी पार्टीमा छलफल गरेर छिट्टै सहमतिमा पुगिने उनको भनाइ छ। केन्द्रीय कमिटी ५३ सदस्यीय हुने र त्यसमध्ये २६-२६ जना हुनेगरी भागबन्डा गरिएको छ। एक केन्द्रीय सदस्यहरू टुंगो लाग्न बाँकी छ। पार्टीको चुनाव चिन्ह राजपाको प्रयोग गर्ने छाता भएको छ भने झण्डा समाजवादीको प्रयोग गर्दै आएको नै कायम गर्ने सहमति यसअघि नै बनिकसेको थियो।
यस्तो छ मधेशकेन्द्रित दलको इतिहास
मधेस केन्द्रित दल स्थापना गर्ने श्रेय सबैभन्दा पहिले गजेन्द्रनारायण सिंहलाई दिने गरिएको छ। सिंहले पहिलो जनआन्दोलन अघिदेखि प्रयास गरेपनि पार्टीको रूपमा पछि उदाएका थिए। ०४६ सालको जनआन्दोलनपछि सिंहले मधेसकेन्द्रित राजनीतिको जग हाले। सिंहको नेतृत्वमा गठित सद्भावना पार्टीले बहुदल आएपछिको पहिलो निर्वाचन ०४८ सालमा ६ सिट ल्याएर आफ्नो उपस्थिति देखाएको थियो। उसले ०५१ मा तीन र ०५६ मा पाँच सिट ल्यायो। सद्भावनाबाट विभाजित मधेस केन्द्रित दलले मेधसी जनताको हक र अधिकारका लागि भन्दै आफ्नो आवाज उठाउन छोडेनन्। तर यो कहिले प्रखर हुन्थ्यो त कहिले मलिन।
पहिलो जनआन्दोलनपछि सुस्ताएको मधेस दोस्रो जनआन्दोलनपछि भने प्रखर भएर निस्कियो। मधेसलाई जगाउने काम दोस्रो जनआन्दोलनपछि उपेन्द्र यादवले गरेका थिए। उनकै जोडबलमा मधेसी जनता आन्दोलनमा उत्रेपछि फोरम पार्टी सशक्त रूपमा उदाएको थियो। पहिलो संविधानसभामा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम ५४, महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) २१, सद्भावना पार्टी (महतो) ९ र सद्भावना पार्टी (आनन्ददेवी)ले ३ सिट ल्याएर संसद् तताएका थिए। पहिलो संविधानसभा निर्वाचनमा मधेस केन्द्रित दलको सशक्त उपस्थितिले सिंहदरबार नराम्रोसँग आत्तिएको थियो। जनताले आन्दोलनबाट रगत र पसना बगाएकाले विश्वास गरेर मत दिएपनि मधेस केन्द्रित दल विभाजित हुँदा मधेसी जनताका मुद्दा अलपत्र परे।
विभाजित हुँदाको पीडा मधेस केन्द्रित दलले दास्रो संविधानसभा निर्वाचनमा राम्रोसँग भोग्ने मौका पाए। २०७४ सालको पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)ले १७ सिट र उपेन्द्र यादव नेतृत्वको फोरमले १६ सिट ल्याए।
यादवले आफूलाई बलियो बनाउन ३२ जेठ ०७२ मा अशोक राई नेतृत्वको संघीय समाजवादीसँग फोरमको एकता गराए। आफै नेतृत्वमा स्थापित भए। यादवले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिलाई पनि आफू नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गराए। राजपा र संघीय समाजवादी पार्टी पनि गत २३ बैसाखमा एक हुनुपर्ने निष्कर्षमा पुगे। यो एकता भएपछि बनेको जनता समाजवादी पार्टी संसद्मा तेस्रो शक्ति भएर उदाएको छ।
प्रधानमन्त्री केपी ओलीले बैशाखमा तत्कालीन समाजवादी पार्टीलाई फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याएपछि फुट्ने डरले आत्तिएको समाजवादीले रातारात राजपासँग एकता गर्न सहमत भएको थियो। ओलीले मधेस केन्द्रित दललाई फुटाएर नेकपा बलियो बनाउन खोजेका थिए। उल्टै मधेस केन्द्रित दलले एकता गरेर देखाएपछि प्रधानमन्त्री ओली पार्टीभित्र सबैभन्दा धेरै अप्ठ्यारोमा परेका थिए। ओलीले दललाई फुटाउन सजिलो हुनेगरी अध्यादेश फिर्ता लिनुका साथै प्रधानमन्त्री पद जोगाउन निक्कै मेहनत गर्नु परेको थियो।
समाजवादी र राजपाको जुटफुट शृंखला
समाजवादीमा जुटफुट
२३ वैशाख ०७६ संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता
३२ जेठ ०७२ मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीबीच एकता
९ जेठ ०६८ मधेसी जनअधिकार फोरमबाट अलग भई जेपी गुप्ताको नेतृत्वमा फोरम गणतान्त्रिक गठन
जेठ ०६६ मधेसी जनाअधिकार फोरमबाट विभाजन भई मधेसी जनअधिकार लोकतान्त्रिक गठन
३१ असार ०७४ विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक कांग्रेस प्रवेश
१३ असार ०६९ मा विजय गच्छदारबाट अलग भई शरत्सिंह भण्डारीको नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन,
२ माघ ०६४ अन्तरिम संविधान जलाएर आन्दोलन घोषणा
०५४ सालमा उपेन्द्र यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरम स्थापना
०००
राजपामा जुटफुट
७ वैशाख ०७४ राष्ट्रिय जनता पार्टी गठन। जसमा तराई मधेस केन्द्रित ६ दल एकता गरी राजपा गठन। महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना, अनिल झाको सद्भावना, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी एक भएका थिए।
०६९ सद्भावनाबाट अलग भई तराई मधेस सद्भावना पार्टी गठन
०६८ रामनरेश राय यादवले आफ्नो नेतृत्वमा पार्टी फुटाएका, जसमा महेन्द्र यादवले तराई मधेस सद्भावना पार्टी निर्माण गरेका
०६८ सद्भावनाबाट अलग भई अनिल झाको नेतृत्वमा नेपाल सद्भावना पार्टी गठन
-०६४ सालमा महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन, हृदयेश त्रिपाठी पनि सहभागी
०६३ सालमा राजेन्द्र महतोले आफ्नो नेतृत्वमा सद्भावना पार्टी नेपाल गठन
०६८ सालमा अनिल झाको नेतृत्वमा संघीय सद्भावना पार्टी
०६४ सालमा महतो र कर्णबीच एकता भई सद्भावना पार्टी गठन
०५८ सालमा राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण नेतृत्वमा सद्भावना गठन र श्यामसुन्दर यादवको नेतृत्वमा सद्भावना आनन्ददेवी गठन
०५८ साल माघ १० गते गजेन्द्रनारायण सिंहको निधनलगत्तै पार्टीको नेतृत्व बद्रीप्रसाद मण्डलको नेतृत्वमा पुगेपछि दरबार प्रवेश तीन टुक्रामा विभाजित
३ वैशाख ०४७ मा स्थापना गरेको नेपाल सद्भावना पार्टी स्थापना परिषद्को रूपमा स्थापना
०४० सालमा गजेन्द्रनारायण सिंह, रामजनम तिवारी र रामचन्द्र मिश्रलगायतको पहलमा नेपाल सद्भावना परिषद् गठन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।