काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को पदीय भागवण्डाको सहमतिमा पुगेको छ। लामो समयदेखि जसपाका शिर्ष नेताहरु बीच छलफलपछि नेतृत्वको भागवण्डा मिलेको हो । गत वैशाख १० गते तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा) बीच एकता भएपनि पदीय भागवन्डा नमिल्दा दल दर्ता हुन सकेको छैन।
जसपाको संघीय परिषदको अध्यक्षमा बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठलाई बनाउने विषयमा सहमति भएको बताइएकाे छ। ‘नेतृत्वको व्यवस्थापनलाई लिएर विभिन्न मोडेलमा छलफल भयो। धेरै मोडेलमध्य संघीय परिषद अध्यक्ष भट्टराई, केन्द्रीय समिति अध्यक्षमा ठाकुर र यादव र वरिष्ठ नेतामा महतो र श्रेष्ठलाई बनाउने विषयमा सहमति भयाे,’ जसपाका नेता गंगानारायण श्रेष्ठले भने, ‘शिर्ष नेताबीच सहमती भई सकेकाले अन्तिम रुप दिन बाँकी छ ।’ नेतृत्वमा व्यवस्थापन हुन नसकेका नेताहरुलाई ९ देखि ११ जनाको निर्देशक समिति बनाउने तयारी गरिएको छ।
केन्द्रीय कार्यकारी समिति ५१ देखि ६१ जनाको बनाउने तयारी छ । हाल जसपाको प्रतिनिधि सभामा ३३ जना सांसद छन्। प्रदेश नम्बर २ मा पनि जसपा नेतृत्वकै सरकार छ।
आजै निर्वाचन आयोगमा दर्ता हुन सक्ने
जसपा नेताहरुले सहमतीलाई अन्तिम रुप दिए आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेका छन्। ‘हामीले दल दर्ताका लागि छलफलगरी रहेका छौं। नेतृत्वको व्यवस्थापनलाई अन्तिम रुप दिँदैछौं। सहमतीलाई अन्तिम रुप दिन पार्टी कार्यालयमा बैठक बस्छौ,’ जसपाका नेता गंगानारायण श्रेष्ठले भने, ‘सकेसम्म आजै ५ बजे निर्वाचन आयोगमा दल दर्ता गर्छौं। यदी आज नभए भोलि विहान दर्ता गर्छौं।’ पार्टी फुट्ने हल्ला चलेपछि गत वैशाख १० गते समाजवादी पार्टी र राजपा राती साढे ११ बजे एकता गरेका थिए । नेतृत्वको व्यवस्थापन नगरी हतारमा एकता गरेकाले लामो समय निर्वाचन आयोगमा दल दर्ता हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।