धनगढी- सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालाले प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार र शनिबार गरिएको परीक्षणमा प्रदेशको कैलाली, डडेल्धुरा, अछाम, कञ्चनपुर र बझाङ तथा काठमाडौंका चार महिला र १३ पुरुष गरी थप १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो।
अस्पतालका अनुसार बझाङ, कैलालीका ६/६, काठमाडौंका दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक/एक जनामा कोरोना पुष्टि भएको हो। कैलालीको गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिकाका ५५ वर्षीय महिला, गौरीगंगा नगरपालिकाका २७, १८, १६ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
यस्तै बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै बझाङमा संक्रमितको संख्या ७ पुगेको छ। शुक्रबार कोरोना पुष्टि हुनेमा २५, ३८, ५७, र ७० वर्षीय पुरुष तथा २ जना ४० वर्षीया महिला रहेका छन्। उनीहरूमध्ये ५ जना भारतको दिल्लीबाट १ हप्ता अगाडि धनगढीस्थित त्रिनगर भन्सार नाका भएर आएको र एक जना २५ वर्षीय पुरुष २ हप्ताअघि काठमाडौंबाट बझाङ भित्रिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए।
संक्रमितलाई खप्तड छान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको छ। उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको डाक्टर खड्काले बताए।
त्यसैगरी कञ्चनपुरमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमा एक जना कञ्चनपुरका र दुई जना काठमाण्डौंका रहेका छन्। अछाममा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कञ्चनपुरको महाकाली अस्पतालमा गरिएको परीक्षणमा महाकाली नगरपालिका- ३ का ३८ वर्षीय पुरुष तथा काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिका- ९ का १८ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा अछामको मंगलसेन नगरपालिका- १ की ५२ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो।
उता डडेल्धुरामा सुदूरपश्चिममा पहिलो पटक सुत्केरीलाई कोरोना पुष्टि भएको छ। डडेल्धुरामा एक सुत्केरीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो। अस्पतालका निमित्त मेसु डाक्टर जगदिश विष्टले नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना भएको पुष्टि गरे। जेठ २१ गते सिरोडको क्वारेन्टाइनबाट सुत्केरी हुन डडेल्धुरा अस्पताल पुगेकी उनको २२ गते पिसिआरका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो। २३ गते सुरक्षित तरिकाले अस्पतालमा शिशु जन्माएकी उनको कोरोना रिपार्ट पोजेटिभ आएको छ। कोरोना रिपोर्ट आइसकेपछि उनीसहित शिशुलाई अस्पतालाको आइसोलेनमा भर्ना गरिएको मेसु विष्टले जानकारी दिए।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय नौ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा ५०, अछाममा १५, कञ्चनपुरमा १३, बझाङमा आठ, डडेल्धुरामा सात, बैतडी र डोटीमा ६/६, बाजुरामा तीन र दार्चुलामा एक गरी संक्रमितको संख्या एक सय नौ पुगेको छ।
यस्तै प्रदेशमा हालसम्म १८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।