काठमाडौं- म्यान्मारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले शुक्रबार नै होम क्वारेन्टाइनमा पठाइएको छ। बिहान ११ः०० बजे काठमाडौँ आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौँको बसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो।
म्यान्मारबाटै पिसिआर नेगेटिभ भएर आएकाले आवश्यक अभिलेख राखेर शुक्रबार नै होम क्वारेन्टाइनमा पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
मकवानपुरका एक जना मात्र होल्डिङ सेन्टरमा रहेका र उनलाई पनि पछि पठाइने जनाइएको छ। म्यान्मारबाट आउनेमा बागमती प्रदेशका १७ जना छन् भने गण्डकी प्रदेशका चार, प्रदेश १ का चार र प्रदेश ५ का एक जना छन्।
होल्डिङ सेन्टरको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ। उनीहरुलाई आज म्यान्मा सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको थियो। उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मा गएका छन्।
अपराह्न सरकारले संयुक्त अरब इमिरेट्स् (युएई)बाट पनि १ सय ६८ जनालाई उद्धार गरी स्वदेश फर्काएको छ। विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म उनीहरुलाई बस्न उपत्यकाका तीन जिल्लाका झन्डै तीन हजार क्षमताका सात होल्डिङ सेन्टर बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।