काठमाडौं- जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना भाइरसको संक्रमण फैलिन नदिन शुक्रबार (जेठ २३ गते) साँझ ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले शुक्रबार एक सूचना जारी गर्दै जिल्लाको नारायण नगरपालिका र दुल्लु नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्।
कोरोना संक्रमणको सम्भावित उच्च जोखिमलाई मध्यनजर गरेर कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको हो। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट दैलेख जिल्लामा २ सय १८ जनामा संक्रमण देखिएको छ। तीमध्ये एक जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरसको प्रभावकारी रोकथाम तथा नियन्त्रण र संक्रमण फैलन नदिनका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए।
राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू औषधी पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा तथा खानेपानी तथा विद्युत सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण, फोहोर मैलाको व्यवस्थापन बाहेकका अन्य सबै सेवा तथा स्थलहरू अनिश्चितकालका लागि बन्द गरिएको हो।
सूचनामा जिल्लाको नारायण नगरपालिकाको पूर्वमा पर्ने लोहोरे खोला, पश्चिममा छामघाट-भीरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लु नगरपालिकाको पूर्वमा पर्ने माथिल्लो डुङ्गेश्वर, चुप्रा-शिरस्थान, पश्चिममा पर्ने पादुकाखोला, कर्णाली राजमार्ग, उत्तरमा पर्ने भैरवी गाउँपालिका र दक्षिणमा पर्ने तल्लो डुङ्गेश्वरभित्र निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कोरोनाको संक्रमणबाट जोगिन भेटघाट, जमघट र भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह गरेको छ। सूचनामा आदेश पालना नभएमा कानून बमोजिम कारबाही हुने पनि सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।