काठमाडौं- शुक्रबार थप २७८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो पटक २७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १५ र कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा १० जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ। ती प्रयोगशालामा सुनसरीका ८, झापाका ११, मोरङका ६ जनामा कोरोना भाइरसको संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिएका हुन्।
रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा अर्घाखाँचीका १, नवलपरासीका २, पाल्पाका १ जना, रुपन्देहीका १८ जनामा कोरोना संक्रमण भेटिएको छ।
यस्तै हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा सिन्धुली र बाराका दुईदुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकीको प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा तनहुँका दुई जनाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ। यस्तै धरानको प्रयोगशालामा गरिएको परीक्षणमा भोजपुरका ५, झापाका १ र सुनसरीका १३ जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कैलालीका ४, अघामका १, बझाङका १, डडेल्धुराका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। काभ्रेस्थित धुलिखेल अस्पतालको प्रयोगशालामा रामेछापका १७ र काभ्रेका ५ जनाको रिपोर्ट पोजेटिभ पाइएको जानकारी मन्त्रालयले दिएको छ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ९० र जुम्लामा रहेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जुम्लाका ७ मध्ये ४ जना भने अन्य जिल्लाका हुन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सुर्खेत र दाङका एकएक जनामा कोरोना संक्रमण देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरूमध्ये बाराका १ जना छन्। काठमाडौंमा रहेका गुल्मी र कास्कीका एकएक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। सोही प्रयोगशालामा कपिलवस्तुका ४४, धनुषाका ४, महोत्तरीका १७ र रौतहटका ६ जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ।
शुक्रबार देशभरमा २ सय ६७ जना पुरुष र ११ जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए।
हालसम्म २ हजार ७ सय १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय ७५ महिला यो भाइरसबाट संक्रमित भएका छन्। उनका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ।
नेपालमा कोरोना संक्रमण भएका ३३३ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण ११ जनाको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।