काठमाडौं- सरकारले तत्काल स्वदेश फर्कने अवस्थाका श्रमिकहरूलाई शुक्रबारदेखि फर्काउन सुरु गरिसकेको छ।
म्यानमारबाट २६ नेपालीहरू नेपाल आइपुगेका छन्। साँझसम्म संयुक्त अरब इमिरेट्स (युएई) लगायतका मुलुकबाट पनि नेपालीहरू फर्किने तयारी भइरहेको छ।
यसरी स्वदेश फर्कनुपर्ने अवस्थाका श्रमिकहरूको ७ दिनभित्रको स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य आवश्यक पर्ने उल्लेख गरिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार पनि कुनै व्यक्ति एक देशबाट अर्को देशमा जान कोरोना परीक्षण रिपोर्ट निगेटिभ हुनुपर्नेछ। तर मलेसियालगायतका कतिपय खाडी मुलुकहरू नेपालीहरूको स्वास्थ्य परीक्षण गराएर पठाउने पक्षमा छैनन्।
सम्बन्धित मुलुकमै नेपालीहरूको कोरोना परीक्षण गराउने सम्बन्धमा कुटनीतिक पहलमा नेपाल सरकार पनि चुकेको देखिन्छ।
कोरोना परीक्षण गराएर पठाउने पक्षमा छैन कतार
नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक मानिने कतारमा झण्डै ४ लाख नेपालीहरू कार्यरत रहेको अनुमान छ। कतारबाट तत्काल स्वदेश फर्कन ७ हजार नेपालीहरूले आवेदन दिएका छन् तर उनीहरूलाई स्वास्थ्य परीक्षण गरेर पठाउने पक्षमा भने कतार सरकार छैन।
कतारमा कोरोना परीक्षणका लागि तोकिएको एउटा पब्लिक हेल्थ अस्पताल रहेको र सो अस्पतालले शंकास्पद बिरामीलाई मात्रै प्राथमिकताका साथ कोरोना परीक्षण गराउँदै आएको कतारका लागि नेपाली राजदूत नारायण नाथ भारद्वाज बताउँछन्।
शुक्रबार श्रम, रोजगार पत्रकार समूहको भिडियो वार्तामा बोल्दै राजदूत भारद्वजले त्यसमा पनि ५५ वर्षभन्दा बढी उमेरकालाई प्राथमिकताका साथ कोरोना परीक्षण गरिएको बताए।
नेपाल फर्कन चाहने सबैको कोरोना परीक्षण गराउन सकिने अवस्था नरहेको उनी बताउँछन्।
‘मैले यस सम्बन्धमा कतार सरकारसँग कुरा गरेको थिएँ भारत र युरोपलगायत अन्य मुलुकका नागरिकहरूलाई पनि कोरोना परीक्षण नगरी नै पठाएका छौं’ राजदूत भारद्वाजले भने। यस सम्बन्धमा परराष्ट्रमा पत्र पठाएको उनले बताए। निजी क्लिनिकमा कोरोना परीक्षण गराउँदा १ सय २५ कतारी रियाल लाग्ने उनको भनाइ छ।
‘यहाँ पिसिआर परीक्षण गराउन सक्ने अवस्था छैन। प्राइभेट कम्पनीहरूसँगको समन्वयमा आरडिटी भने परीक्षण गराउन सकिन्छ। तर यसको पनि अनुमति लिनुपर्ने हुन्छ। अनुमतिप्राप्त नभए अब नेपाल पुर्याएरै कोरोना परीक्षण गराउनुपर्छ’ राजदूत भारद्वजले थपे।
मलेसियाका लागि नेपाली राजदूत पाण्डे भन्छन् : सजिलो उपाय‚ ज्वरो नापेर पठाउन सकिन्छ
मलेसियाले पनि स्वदेश फर्कने नेपालीहरूको स्वास्थ्य परीक्षण गरेर फर्काउने अवस्था नरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए।
मलेसियामा पिसिआर परीक्षण गराउँदा शुल्क धेरै लाग्ने भएकाले आफ्नै शुल्कमा आरडिटी परीक्षण गराउन सकिने उनको भनाइ छ।
‘अझ सरकारले आरडिटी, पिसिआर र अन्य भनेर राखिदिएको छ। जसले गर्दा सहज भएको छ। आरडिटी तथा पिसिआर परीक्षण सम्भव नभए हामी अन्यको ठाँउमा ज्वरो नापेर पठाउन सक्छौं’ राजदूत पाण्डेले भने।
सरकारले उचित निर्णय नलिँदा समस्या
सरकारले स्वदेश फर्काउने नेपालीहरूको स्वास्थ्य परीक्षण कसले गरिदिने? परीक्षण शुल्क सम्बन्धित मुलुकले व्यहोर्ने वा व्यक्ति स्वयंले? भनेर आवश्यक निर्णय गर्न नसक्दा समस्या देखिएको साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए।
‘सरकारले क्लियर निर्देशन नदिँदा हामी साउदी सरकारसँग पनि औपचारिक कुराकानीको भरमा छौं। नेपालीहरूको कोरोना परीक्षण कसरी गर्ने भन्ने विषमा स्पष्ट कुरा आएको छैन’ राजदूत सिंहले भने।
सरकारले उचित निर्णय र गन्तव्य मुलुकहरूसँग आवश्यक कुटनीतिक पहल गर्न नसक्दा विदेशबाट ज्वरो नापेर मात्रै नेपाली श्रमिकहरूलाई स्वदेश फर्काउनुपर्ने अवस्था सिर्जना भएको छ। तत्काल स्वदेश फर्काउनुपर्ने अवस्थाका ४० हजारभन्दा बढी नेपालीहरू छन्। उनीहरूलाई स्वदेश फर्काएर पनि विमानस्थलमा ज्वरो नापेर मात्रै होल्डिङ सेन्टरमा पठाइने व्यवस्था गरिएको छ। होल्डिङ सेन्टरमा आवश्यक प्रकृया पुरा गरेर तोकिएको क्वारेन्टाइनमा पठाइने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।