काठमाडौं- गैरसरकारी विधेयकको रुपमा थप एउटा संविधान संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको छ। सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन्। सुवालले शुक्रबार अपराह्न २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले जानकारी दिइन्।
सांसद सुवालले नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने लगायत विषयमा आफ्नो संशोधन राखेका छन्। यसअघि सरकारले नक्सा अनुसार संविधानको अनूसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधानको दोश्रो संशोधन विधेयक दर्ता गराएको थियो।
सो विधेयक संसदीय  प्रक्रियामा प्रवेश भइसकेको छ। त्यसपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रुपमा , नेपालको संविधानको धारा ७, ११, ३८, ८६,२७४, २८२, २८३ र २८७ मा भएको व्यवस्था संशोधनको माग गर्दे नेपाली कांग्रेसका सांसदहरु अमरेश कुमार सिंह, उमाकान्त चौधरीलगायत ८ जना सांसदको र जनमोर्चा नेपालको तर्फबाट संविधान संशोधन विधेयक दर्ता भएका छन्।  
सांसद सुवालले संविधान संशोधन विधेयक दर्ता गराएसंगै संविधान संशोधनका लागि गैरसरकारी संशोधन विधेयकको संख्या ४ पुगेको छ।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।