धनगढी- सुदूरपश्चिम प्रदेशमा बिहीबार थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिममा संक्रमितको सङ्ख्या ८६ पुगेको छ। धनगढी फुलवारीकी २५ वर्षीया युवती र २६ वर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ वर्षीय पुरुष, अछाम साँफेवगरका २९ वर्षीय पुरुष र बझाङ विथडचिरका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
सुदूरपश्चिमका ८६ जना संक्रमितमध्ये ८३ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ। एक जना संक्रमितको मृत्यु भइसकेको छ। संक्रमितमध्ये ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भइसकेका छन्।
सबैभन्दा बढी कैलालीका ३९ जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका ६, बाजुराका तीन, बझाङमा दुई, डडेल्धुरा र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६९, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।