काठमाडौं- चालु आर्थिक वर्षको कर तथा विवरण बुझाउन आन्तरिक राजस्व विभागले सोमबार वेबसाइटमार्फत एउटा सूचना सार्वजनिक गर्यो। मंगलबार पत्रपत्रिका आएको सूचनामा विभागले चालु वर्षको आयकरको दोस्रो किस्ता जेठ मसान्तभित्रमा तथा मूल्य अभिवृद्धि करतर्फ फागुन र चैतको कर विवरण र कर तथा अन्त:शुल्कतर्फको फागुन र चैतको विवरण र कर यही २५ गतेभित्र बुझाउन सूचनामा भनिएको छ।
सूचनाअनुसार जेठ २५ गतेभित्रमा विगत महिनाको कर विवरण तथा कर रकम दाखिला नगरे शुल्क, थप दस्तु, ब्याज र जरिवाना लाग्नेछ। विभागले यो सूचना प्रकाशित गरेपछि व्यवसायीहरुले त्यसको विरोध गरेका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा प्रस्तुत गर्दै उनीहरुले लकडाउन नखुलेको अवस्थामा कर उठाउने सूचना प्रकाशित गर्नु नाजायज भएको टिप्पणी गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहितका व्यवसायीले विभागको सूचनाको विरोध गरेका छन्।
किन आयो यो सूचना?
सरकारले चैतको ११ गतेबाट लकडाउन घोषणा गरेर जेठ मसान्तसम्मका लागि निरन्तरता दिएको छ। लकडाउन सुरु भएसँगै चैतको अन्त्यमा सरकारले पहिलो चरणको राहत प्याकेजमार्फत् कर विवरण बुझाउने समय वैशाख २५ र वैशाख मसान्तलाई तोकिएको थियो।
लकडाउन निरन्तर अघि बढेसँगै सरकारले यसलाई जेठ २५ र जेठ मसान्तसम्म सारेको थियो। जेठ ३२ गतेसम्म लकडाउन बढाइएसँगै सरकारले यसबारे अर्को निर्णय गरेको छैन। विभागले सरकारको यही निर्णयलाई आधार मानेर सूचना प्रकाशित गरेको महानिर्देशक विनोदबहादुर कुँवरले बताए।
'सरकारले गरेको निर्णयका आधारमा हामीले कर बुझाउने समय आउन लाग्यो भनेर सम्झाएका हौँ,' कुँवरले भने, 'मन्त्रिपरिषदबाट निर्णय गरेर नै कर बुझाउने समय सूचनामा उल्लेख भएको मितिलाई तोकिएकाले हामीले जानकारी गराएका हौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।