काठमाडौं- सरकारले संविधान संशोधन प्रस्ताव सर्वसाधारण जनताका लागि जानकारी दिन राजपत्रमा सूचना प्रकाशित गरेको छ। आइतबार नै प्रतिनिधि सभामा पेश भएको संविधान संशोधन प्रस्ताव सर्वसाधरण जनताका लागि राजपत्रमा प्रकाशित गरेको हो।
संविधानको अनुसूची ३ को निशान छाप संशोधनका लागि सरकारले गत शुक्रबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको थियो। सरकारले संघीय संसदको प्रतिनिधि सभामा पेश गरेको संशोधन प्रस्ताव फास्ट ट्रायकबाट पारित गर्ने बताएको छ। संसद नियमावलीअनुसार संविधान सर्वसाधारण जनतालाई जानकारी गराउनुपर्ने भएकाले राजपत्रमा सूचना प्रकाशित गरिएको हो।
सरकारले पत्र पत्रिकामा प्रकाशनका लागि पनि आइतबार नै पठाएको कानुनमन्त्री शिवमाया तुम्वाहाम्फेले जानकारी दिइन्। अब सूचना प्रकाशित भएपछि बस्ने प्रतिनिधी सभाको बैठकमा केही नियमहरू निलम्बन गर्दै प्रस्तावमाथि सैद्धान्तिक छलफलमा जानेछ। सैद्धान्तिक छलफलपछि पारित भएर राष्ट्रिय सभामा पेश हुनेछ। राष्ट्रिय सभाले पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।