काठमाडौं- सर्वोच्च अदालतले देशभरका क्वारेन्टाइनमा रहेका सबैको अनिवार्य रुपमा कोरोना परीक्षणका लागि तत्काल पिसिआर गर्न आदेश गरेको छ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको मृत्यु बढिरहेको समयमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो। अहिलेसम्म तीन जनाको क्वारेन्टाइनमै रहेको अवस्थामा ज्यान गएको छ। बाँके, बाजुरा र दैलेखका युवाको क्वारेन्टाइनमै मृत्यु भएको छ। न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलाशले क्वारेन्टाइनमा रहेका व्यक्तिको निःशुल्क परीक्षणका साथै आवश्यक पर्ने स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न पनि भनेको छ।
अधिवक्ता डा पुण्यप्रसाद खतिवडाले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले चार बुँदामा सरकारको नाममा आदेश जारी गरेको हो। सर्वोच्चले क्वारेन्टाइनमा रहेका मानिसलाई लामखुट्टेलगायत अन्य संक्रमण हुनबाट बचाउन समेत व्यवस्था गर्न भनेको छ। विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार अग्रपंक्तिमा रहेका काम गर्ने चिकित्सक, सुरक्षाकर्मी लगायतलाई अबिलम्व पोशाक र अन्य सुरक्षा सामग्रीहरू निःशुल्क उपलब्ध गराउन सर्वोच्चको आदेशमा भनिएको छ।
आधारभुत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले यसको कार्यान्वयन गर्न पनि सर्वोच्चको आदेशमा भनिएको छ। नागरिकको मौलिक हक कार्यान्वयन राज्यको दायित्व भएकाले महामारीको समयमा उचित उपचार नागरिकलाई दिन सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।