काठमाडौं- जिल्ला अदालत चितवनले विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’लाई तत्काल रिहाई गरी साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ। २३ वैशाखमा उपचारका लागि भरतपुर अस्पताल गएका बेला पक्राउ परेका उनलाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियोगअनुसार हाल थुनामै राख्नुपर्ने अवस्था नभएको भन्दै रिहा गर्न आदेश दिएको हो।
उनी गम्भीर रुपको बिरामी समेत रहेकाले चिकित्सकको निगरानीमा राख्न, चिकित्सकको सिफारिस बाहेक अन्य कुनै पनि स्थानमा नलैजान अदालतको आदेशमा भनिएको छ।
प्रहरीले विरही धनुषा घटनामा पनि संलग्न भएको दाबी गरेको थियो। उनलाई धनुषा लैजाने तयारी थालेपछि अदालतले त्यसलाई पनि अस्वीकार गरेको छ। जिल्ला अदालतले भरतपुर अस्पतालमै लगेर राख्न भनेको छ।
उनको तर्फबाट अभिवक्ता कमल पाठक, अपिल पोखरेल र धर्म आचार्यले बहस गरेका थिए। अदालतको आदेशपछि शर्मालाई भरतपुर अस्पतालको मेडिकल वार्डमा लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।