काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको बजेट विवाद रहित ढंगले स्विकार्नुपर्ने बताएका छन्।
बजेटमाथिको छलफलका क्रममा राष्ट्रियसभामा बोल्दै श्रेष्ठले कोभिड १९ केन्द्रित बजेटले अहिलेको प्राथमिकता निर्धारण गरेको दाबी गरे। उनले भने, ‘राष्ट्रको आवश्यकता सम्बोधन गरेको छ। बजेटको सिद्धान्त र उद्देश्य समायानुकल र वस्तुसंगत छन्।’
बजेटले स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएको भन्दै उनले बजेटको प्रशंसा गरे। व्यक्तिलाई बचाउनुका साथै अर्थतन्त्र बचाउने सिद्धान्तले बजेट आएको दाबी गरे।
कोभिड १९ का कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाउनेलाई कृषि क्षेत्रमा सहभागी गराउने गरी बजेट आएको उनले बताए। श्रेष्ठले भने, ‘रोजगारी बढाउने उद्देश्य राखेको छ। देशभित्र र बाहिरबाट रोजगारी गुमेकालाई कृषिमा सहभागी गराउने भएको छ।’
जनताको सामाजिक सुरक्षाको उद्देश्य बजेटमा राखिएको उल्लेख गरे। आयातलाई प्रतिस्थापन गर्ने गरी बजेट आगामी आर्थिक वर्षको बजेट आएको बताए। सरकारले नयाँ परियोजनालाई बजेटमा समाबेश नगरी आगामी वर्ष सक्ने योजनालाई ध्यान दिएको प्रति सन्तुष्ट व्यक्त गरे। ‘संघीयता कार्यान्वयन गर्ने गरी बजेट आएको छ’, श्रेष्ठले भने, ‘जनताको आकांक्षा र अपेक्षा अनुसार नै बजेट आएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।