काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्णबहादुर विष्टसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले १२ लाख ९० हजार बिगो कायम गर्दै आर्थिक अनियमितता गरेको अभियोगमा विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको हो।
विष्टले कञ्चनपुर, भिमदत्त नगरपालिकास्थित शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूह तिलकपुरको नाममा रहेको ट्रयाक्टर र ट्रली खरिद गरी घरायसी प्रयोजनमा लगाउँदै दुरुपयोग गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।
सामुदायिक वनको नाममा खरिद भएको उक्त ट्रयाक्टर र ट्रली बिक्री गरेको उजुरीको आधारमा अनुसन्धान हुँदा १२ लाख ९० हजारमा खरिद भएको उक्त सामग्री एम.पी. अटोमोवाइल्सबाट बोहरीगाउँ–१ दार्चुला निवासी नवराज जोशीका नाममा दर्ता भएको पाइएको थियो।
उनले सामुदायिक वन उपभोक्ता समूहको नाममा खरिद भएको ट्रयाक्टर अर्के व्यक्तिको नाममा दर्ता गराइएको पाइएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना र उपभोक्ता समितिको रकम असुल हुनुपर्ने माग आरोपपत्रमा गरिएको छ। अख्तियारले ट्रायक्टर खरिद गर्ने नवराज जोशीलाई पनि विपक्षी बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।