काठमाडौं- नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्रकुमार पाण्डेले सरकारलाई ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिन आग्रह गरे। बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारले लक्ष्य धेरै लिएको तर कोरोना महामारीका कारण यसमा भएका लक्ष्य पूरा हुन चुनौती रहेको बताए।
बजेटमा आएका योजना धेरै सकारात्मक भए पनि कार्यान्वयन कसरी हुन्छ भन्ने टिप्पणी पाण्डले गरे। उनले रेमिट्यान्सदेखि उत्पादनसम्म सबै कार्य ठप्प भएकाले सरकार होसियार नभएमा कर्मचारीलाई तलब खुवाउनकै लागि वैदेशिक ऋण लिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।
उनले चालु खर्चमै राजश्व बाहेक अन्यमा नजाने कुरा हुनुपर्ने बताए। ‘विश्व बैंक, एसियाली विकास बैंकले रकम दिने बाचा गरेकाले उनीहरुको पैसा चलाउन सक्ने देखिएको छ। आइएमएफले पैसा दिने भनेको छ। यो सकारात्मक छ। यी सबैलाई स्मार्ट रुपमा प्रयोग गर्नुपर्ने अवस्था छ। रेमिट्यान्स पनि रोकिने भएकाले यसमा चलाख हुनैपर्छ’, उनले भने।
पाण्डेले ७ प्रतिशत आर्थिक बृद्धि गर्ने कुराले आशा राखेको हुनसक्ने बताए। यद्यपि त्यो चुनौतीपूर्ण हुने उनको बुझाइ छ। ‘लकडाउनका कारण आर्थिक बुद्धि पुर्याउने काम चुनौती हो। वैदेशिक ऋण लिने कुरा पनि चुनौती छ। सरकारले अघि सारेका योजना कार्यान्वयनमा ध्यान दिए मात्र सम्भव छ। सबै मन्त्रालय एक भएर काम गरेमा मात्र सम्भव छ। भनेकै लक्ष्य नपुग्ला तर केही आशा भने पक्कै सिर्जना गर्ने छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।