काठमाडौं- नेपालमा शनिबार २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि दिउँसो ४ बजेर १५ मिनेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबार नै १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण पुष्टि हुनेमा कालिकोटका १७ जना छन् भने बाजुराका एक र दैलेखका एक जना छन्। योसँगै शनिबार मात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २०८ पुगेको हो।
मन्त्रालयले दिउँसो गराएको अपडेट अनुसार देशका विभिन्न स्थानमा प्रयोगशालामा गरिएको परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये धनुषाका ७ जना, झापाका एक जना कपिलवस्तुका ७७ जना, ललितपुर १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना र सिराहा ११ जना हुन्।
यसैगरी रुपन्देहीमा गरिएको परीक्षणमा २९ जनाको पोजेटिभ रिपोर्ट आएको हो। उनीहरू सबै जना कपिलवस्तुका हुन्। यस्तै धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा पनि कोरोना संक्रमण देखिइसकेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरू कपिलवस्तुका ३ जना छन् भने दाङका ५ जना छन्।
शनिबारै नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भने ३ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु बाराका १ जना हुन् भने पर्साका २ जना हुन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू सबै दैलेखका हुन्।
विराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू दुवै जना संखुवासभाका हुन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ४ सय २० पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
नेपालमा कोरोना संक्रमणका कारण ७ जनाको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।