काठमाडौं- आर्थिक वर्ष २०७७/७८ का लागि सरकारद्वारा प्रस्तुत गरिएको बजेटलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वागत गरेको छ। कोभिड १९ को महामारीले विश्वलाई नै विक्षिप्त बनाएको वर्तमान अवस्थामा सरकारले गत बिहीबार सार्वजनिक गरेको बजेट स्वागतयोग्य भएको महासंघले जनाएको छ।
सुखी नेपाली समृद्ध नेपालको अभियानमा लागेको वर्तमान सरकारले विशेष गरेर लघु, घरेलु तथा साना उद्योग मार्फत रोजगारी श्रृजना गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजेको बजेटबाट आभाष पाइएको महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए। बजेटले गरिब, विपन्न, शैक्षिक बेरोजगार र बैदेशिक रोजगार अवरुद्ध भएका युवाहरूलाई सहकारी संस्था मार्फत कर्जा प्राप्त गरी घरेलु तथा साना उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने नीति लिएकोमा त्यसलाई महासंघले स्वागतयोग्य कदम भनेको छ।
मुलुकको आर्थिक संवाहकका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनका लागि महासंघले गर्दै आएको पहललाई यस बजेटले समेट्न खोजेको अध्यक्ष सिंहको भनाइ छ।
उनले कोभिड १९ का कारण हाल संचालनमा अवरुद्ध भएका उद्योगहरूलाई स्वाथ्य सुरक्षा कायम गरी संचालनमा ल्याउने र स्वदेशी कच्चा पदार्थमा आधारित, उच्च मूल्य अभिवृद्धि गर्ने, औद्योगिक ग्राम तथा औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई कर प्रणाली मार्फत थप प्रोत्साहन गर्ने नीति बजेटको सकारात्मक पक्ष भएकोसमेत बताए।
त्यस्तै लघु उद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी सात वर्ष र महिला उद्यमीद्वारा सञ्चालित लघु उद्यमीलाई तीन वर्ष थप गरी १० वर्ष पुर्याउनु स्वागतयोग्य कदम भएको महासंघको ठहर छ।
लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा वार्षिक २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० लाख देखि ५० लाखसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि १ करोडसम्म कारोबार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिनुले महिला तथा लघु उद्यमीलाई प्रोत्साहन गरेकोमा पनि महासंघले स्वागत गरेको छ।
सबै स्थानीय तहमा महिला उद्यमशिलता सहजीकरण केन्द्र स्थापना गर्ने उल्लेख हुनुले महिला उद्यमीहरूका लागि प्रोत्साहन मिल्ने महासंघले जनाएको छ।
कृषि, पर्यटन तथा वन लगायतका क्षेत्रसँग अग्र र पृष्ठ सम्बन्ध स्थापित हुने साना तथा मझौला उद्योगको विकास र विस्तार गर्न उद्यमशिलता, सीप र प्रविधिको उपयोगमा जोड दिने, स्वदेशी वस्तुको उपभोग गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न रेशाजन्य वस्तुबाट धागो उत्पादन र स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गर्ने उल्लेख बजेटको राम्रो पाटो भएको कार्यवाहक अध्यक्ष सिंहले बताए।
कोरोनाबाट प्रभावित कृषि, घरेलु तथा साना, होटल, पर्यटनलगायत उत्पादनमूलक उद्योग व्यवसायलाई पुनर्कर्जा ५ प्रतिशत कायम गरिनु सकारात्मक पक्ष भएको भन्दै उनले भने‚ ‘सीप विकास, तालिम र प्रविधिको पहुँच पुर्याउने र कोरोनाको कारण रोजगार गुमेका र तत्काल पुनरोत्थान भई रोजगार सिर्जना हुन नसक्ने क्षेत्रमा कार्यरत रहेका मजदुरहरूको सीप रुपान्तरण गरी अन्यत्र काम गर्न सक्षम तुल्याउन गरिएको पहल बजेटको सकारात्मक पक्ष हो।’
त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत वाणिज्य बैंकले प्रतिशाखा कम्तिमा १० तथा विकास बैंकले प्रतिशाखा कम्तिमा ५ जनाका दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराई रोजगारी सिर्जना गर्न नेपाल राष्ट्र बैंक मार्फत व्यवस्था मिलाउने योजनाले पनि लघु, साना तथा घरेलु उद्योगलाई प्रत्यक्ष फाइदा पुग्ने महासंघको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।